काठमाडौं, भदौ ९ । नेकपा (एमाले) को पोलिटव्यूरो बैठक सकिएको छ । स्थायी कमिटीद्वारा पारित प्रस्तावलाई सर्वसम्मत अनुमोदन गर्दै बैठक सकिएको हो ।
अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी कार्यालय च्यासल, ललितपुरमा बसेको बैठक वर्तमान राष्ट्रिय राजनीतिका विषयमा गहन छलफल गर्दै सम्पन्न भएको एमाले केन्द्रीय प्रचार तथा प्रकाशन बिभागका सचिव गगन बिष्टले बिज्ञप्ती मार्फत जानकारी दिनुभएको छ ।
बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदनमा उल्लेख भएका राष्ट्रिय राजनीति तथा अन्तर्राष्ट्रिय परिस्थिति र आगामी आम निर्वाचनका विषयमा प्रकाश पार्नुभएको थियो । शुक्रवार बस्ने केन्द्रीय कमिटीको बैठकमा अध्यक्षको राजनीतिक प्रतिवेदन प्रस्तुत हुनेछ । बैठकले केन्द्रीय कमिटीमा प्रस्तुत हुने विषयहरू तय गरेको छ ।

बैठकमा आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार छनौट गर्ने प्रक्रिया र मापदण्डका बारेमा छलफल भएको छ ।
बैठकमा पोलिटव्यूरो सदस्यहरु खिमलाल भट्टराई, सुमनराज प्याकुरेल, लिलाबहादुर थापा, रामदयाल मण्डल, निरु पाल, शान्ता चौधरी, कर्ण थापा, जितु गौतम, मञ्जु चौधरी, लालबाबु पण्डित, काशीनाथ अधिकारी, खगराज अधिकारी, बिन्दा पाण्डे, अग्नि खरेल र कृष्ण राईले राजनीतिक प्रतिवेदनमा समावेश गर्नका लागि आ– आफ्ना सुझाव राख्नुभएको थियो ।
बैठकले पार्टीको सचिवालयबाट गरिएका निर्णयहरू अनुमोदन गरेको छ । सचिव बिष्टका अनुसार केन्द्रीय कमिटीको बैठक भोलि भदौ १० गते पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा ११ बजे बस्नेछ ।














प्रतिक्रिया दिनुहोस्