इटहरी, भदौ ९ । मोरङको सुन्दर हरैचा नगरपालिका–१ स्थित जनक मास्केको संगुर फर्ममा जुवा खेलिरहेका ६० जनाभन्दा बढी जुवाडेलाई प्रहरीले बिनाकारबाही छाडिदिएको छ ।
बुधबार बेलुका लाखौं रुपैयाँसहित पक्राउ परेका जुवाडेलाई इलाका प्रहरी कार्यालय बेलवारीले बिनाकारबाही छोडिदिएको हो ।स्थानीयवासीका अनुसार बुधबार ३ बजेदेखि मास्केको संगुर फर्ममा जुवाडेहरुले कौडा खेल्न सुरु गरेका थिए । जुवा खेलिरहेका बेला ६ बजेर २० मिनेटमा प्रहरी जुवा खालामा पुगेको थियो । प्रहरी पुग्दा जुवा खालमा करिब ७० लाखभन्दा बढी रकम बोकेका जुवाडेहरु थिए ।
६ वटा कार र ३० भन्दा बढी मोटरसाइकल लिएर जुवाडेहरु मास्केको सुंगुर फर्ममा पुगेका थिए । जुवा खालमा ४ जना प्रहरी पुगेपछि ’पैसाको बार्गेनिङ’ भएको प्रत्यक्षदर्शीले बताएका छन । प्रहरी पुग्ना साथ जुवा खेलिरहेका कुमार केसी, सुजितकुमार माझी र जनक मास्केले प्रहरीलाई मोटो रकम दिने भएपछि प्रक्राउ नगरी छाडिएको स्रोतको भनाइ छ ।
जुवा खालमा उर्लावारीबाट अर्जुनकुमार तुम्रोकसहित आएका १० जना, विर्तामोडका मोहन उप्रेती, अशोक बराल, डिके चाम्लिङ, विराटनगरबाट कुमार केसीलगायत १२ जना थिए । यस्तै मोरङ तेतरियाबाट सुजितकुमार माझी, सुन्दरहरैचाका जनक मास्के, सुनसरी बजु गाउँपालिकाका देवनारायाण चौधरीसहित ७ जना, दमकका कर्ण राईलगायतका ६ जना गरी ६० भन्दा बढी जुवाडेहरुले जुवा खेलिरहेका थिए ।
अर्जुनकुमार तुम्रोकको मंगलबारेसिथ्त घर, मास्केको सुन्दर हरैचास्थित संगुर फर्म र तेतरियाको सुजितकुमार माझीको घरमा प्रहरीकै संरक्षणमा जुवा खेलाउने गरेको यो घटनाले उजागर गरेको छ । इप्रकाकै एक प्रहरीका अनुसार बुधबार मास्केको फर्ममा जुवा खेलिरहेको भिडियो प्रहरीले सुरुमा खिचेको थियो ।
सोही भिडियोलाई आधार बनाएर जुवाडेहरुले मोटो रकम दिएपश्चात प्रहरीले जुवाडेहरुलाई बिना कारबाही छाडेको हो । अन्नपुर्ण पोष्टको अनलाइन संस्करणमा जुवा खेलिरहेको भिडियोसमेत प्रकाशन भएपछि प्रहरी मिलेमतोको घटना बाहिर आएको हो । जुवा खेलिरहेको भिडियो बाहिरिएपछि सम्पर्कमा आएका इप्रका बेलवारीका एक जवानले घटना सत्य रहेको बताए ।













प्रतिक्रिया दिनुहोस्