जनता टाइम्स

११ भाद्र २०७९, शनिबार १३:११

माधवलाई अर्काे झडका : एमालेमै फर्किए नेकपा एसका जिल्ला अध्यक्षसहितका नेता-कार्यकर्ता


काठमाडौं, भदौ ११ । नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष नै एमाले प्रवेश गर्नुभएको छ । माधव नेपालको भुलभुलैयामा लागेर गल्ती गरेको भन्दै नेकपा एसका धनुषा अध्यक्ष एवं मधेश प्रदेश कमिटीका सदस्य सोमप्रसाद शर्मा आफ्नो टीमसहित एमालेमै फर्कनु भएको हो ।

उहाँलाई एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल र मधेश प्रदेश इञ्चार्ज तथा सचिव रघुबिर महासेठले स्वागत गर्नुभयो । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक चलिरहेका बेला विभिन्न जिल्लाका माओवादी र नेकपा एसका नेता कार्यकर्तालाई अध्यक्ष ओलीले पार्टीमा स्वागत गर्नुभएको हो ।

दोस्रो दिनको केन्द्रीय कमिटी बैठक शुरु हुनुअघि पार्टी कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले ओखलढुंगा र धनुषाका माओवादी तथा नेकपा एसका कार्यकर्तालाई स्वागत गर्दै वाम गठबन्धन भनेकै कार्यकर्तालाई एमालेमा समाहित गर्नु रहेको बताउनुभयो ।

प्रवेश गर्नेमा ओखलढुंगाका माओवादीका प्रभावशाली नेता तथा जिल्ला कमिटी सदस्य सुजन रुम्दालीसहित ३७ जना रहनुभएको छ । धनुषाबाट पनि नेकपा एसका जिल्ला अध्यक्ष सोमप्रसाद शर्मासहित ४० जना नेता कार्यकर्ता एमालेमा फर्किनुभएको हो ।