जनता टाइम्स

११ श्रावण २०७६, शनिबार ०८:४३

सिरियामा संकट : १० दिनमा १०३ को मृत्यु, आक्रमण गैरसैनिक क्षेत्रमा भएको दाबी


काठमाडौं, साउन ११ । सिरियाको अति युद्धग्रस्त क्षेत्र इडविलमा भएको हवाई हमलामा २६ बालबालिका सहित एक सयभन्दा बढि मानिसको मृत्यु भएको छ ।

रुस समर्थक सिरियाको सरकारी सेनाले अस्पताल, विद्यालय, बजारमा गरेको हवाई हमलामा मृत्यु हुने सर्वसाधारणको संख्या बढ्दै गएको राष्ट्रसंघकी मानव अधिकार प्रमुख मिचेल बचेलेटले बताएकी छन् । वचेलेटले अधिकांश आक्रमण गैरसैनिक क्षेत्रमा भएको दाबी गरेकी छिन् । उनले अन्तराष्ट्रिय शक्ति राष्ट्रबीचको मतभिन्नताले इडविल प्रभावित भैरहेको समेत बताइन । विद्रोही पकड रहेको इडलिब क्षेत्रमा मृत्युको संख्या बढिरहेको अवस्थालाई उनले राष्ट्रसंघीय सुरक्षा परिषदको निकम्पनको रूपमा समेत अर्थाएकी छिन् । इडविल सिरियाको सरकार विरोधी विद्रोही र अतिवादी समूहहरुको अन्तिम गढ रहेको छ ।

सन् २०११ बाट फैलिएको हिंसामा सिरियामा लाखौं मानिसको ज्यान गैसकेको छ भने पचासौं लाख नागरिक घरबारविहिन भएका छन् । सिरियाली सेनाले इडविललाई नियन्त्रणमा लिन सक्यो भने देशको ९० प्रतिशत भन्दा बढी भूभाग आफ्नो नियन्त्रणमा फर्काउन सक्ने छ । राष्ट्रपति बसर अल असदले देशको सार्वभौमिकता अक्षुण राख्नको लागि जस्तो सुकै कारवाही गर्न पनि तयार रहेको बताउंदै आएका छन् । इडविलमा रहेका विद्रोहीहरुलाई अमेरिकासहित पश्चिमा देशहरुको समर्थन रहेको छ ।