जनता टाइम्स

११ श्रावण २०७६, शनिबार ०९:२०

खाडीचौर–चरिकोट सडक आज साँझदेखि १२ घण्टा बन्द


सिन्धुपाल्चोक, साउन ११ । खाडीचौर–चरिकोट सडकको विभिन्न खण्ड खाल्डाखुल्डी र हिलाम्मे हुँदा दैनिक हजारौं यात्रु र सडक आसपासका स्थानीयबासीले ठुला सास्ती भोग्नुपरेको छ। सिन्धुपाल्चोक, दालखा र रामेछापका यात्रुले प्रयोग गर्ने उक्त सडक बिग्रँदा एक सातादेखि ढुवानीमा समेत समस्या भएको छ।

ठेकेदार कम्पनीको र परामर्शदाताको लापरबाही, सडक डिभिजन कार्यालय चरिकोटको बेवास्ताका कारण काठमाडौंदेखि चरिकोटसम्मको १ सय ३३ किलोमिटर दूरी तय गर्न १२ घण्टाभन्दा बढी समय लाग्ने गरेको छ । यात्रुले सबैभन्दा बढी खाडीचौर–मुडे खण्डको २५ किलोमिटर सडकमा सास्ती व्यहोर्नुपरेको छ। उक्त खण्डमा ठेकेदार कम्पनीले गुणस्तरहीन सब–बेस बिछ्याएका कारण बाटोमा ४ फिटसम्मका खाडल बनेका छन्। साताभन्दा अघिदेखि सवारीसाधनलाई गन्तव्यसम्म पुर्‍याउन डोजर प्रयोग गर्नुपरेको छ। प्रहरीका अनुसार सो सडक खण्डमा दैनिक डेढ सयभन्दा बढी सवारीसाधनलाई डोजरले नै तानेर पठाउने गरिएको छ ।

गुणस्तरहीन सब–बेस बिछ्याएको देख्दादेख्दै पनि परामर्शदाता कम्पनी इटेको नेपालले काम रोक्न पहल नगरेको सरोकारवालाको आरोप छ। खाडीचौर–चरिकोट सडकअन्तर्गत पहिलो प्याकेजको ठेकेदार गौरीपार्वतीका प्रतिनिधि रामकुमार थापाले सडक सुधार गर्न पहल गरिरहेको बताउनु भयो । भारतीय एक्जिम बैंकको करिब एक अर्ब २४ करोड ऋण सहयोगमा सिन्धुपाल्चोक जिल्लाको खाडीचौरदेखि चरिकोटसम्मको ५५ किलोमिटर सडक विस्तार गरिएको छ। तर, ढल तथा नालाको व्यवस्थापन नगरेकै कारण यात्रु तथा ढुवानीका साधनले सास्ती खेप्नुपरेको छ । सवारी मात्रै होइन, सडकको दुवै किनाराबाट यात्रु हिँड्नसमेत नसक्ने अवस्था छ ।

जीर्ण सडकका कारण पर्यटन व्यवसाय प्रभावित बनेको छ। मालवाहक गाडीलाई राजधानीबाट चरिकोट पुग्न चार दिनसम्म लाग्ने गरेको ब्यवसायीको गुनासो र्छ। जोखिमपूर्ण सडकमा सामान बोकेर गाडी चलाउनुपरेको भन्दै मालवाहक गाडीको भाडासमेत बढेको छ। खाडीचौर–मुडे खण्डको २५ किलोमिटर र मुडे–चरिकोट खण्डको ३० किलोमिटर सडक विस्तारका लागि ०७२ भदौमा सम्झौता भएको थियो। कालोपत्रेसहित दुवै सडक सम्पन्न गर्ने अवधि दुई वर्षको थियो। सम्झौता अवधि थप गरिएको म्याद नाघेको डेढ वर्ष बितिसक्दासमेत दुवै कामको प्रगति ७० प्रतिशत मात्र भएको छ।

थपेको म्यादमा समेत सडक निर्माणले उल्लेख्य प्रगति गर्न नसकेपछि सडक डिभिजन कार्यालय चरिकोटले ठेकेदार कम्पनीलाई हर्जना लगाएको छ। खाडीचौर–मुडे सडकखण्डको ठेकेदार कम्पनी सिमाञ्चल–गौरी पार्वती–सुनौलो खिम्ती जेभीले अहिले दैनिक करिब ३ लाखका दरले हर्जना तिरिरहेको छ। मुडे–चरिकोट सडकखण्डको ठेकेदार सकिल हेदर–शंकरमाली–सुनौला खिम्ती जेभीले दैनिक करिब ४ लाखका दरले हर्जना तिरिरहेको सडक डिभिजन कार्यालय दोलखाका प्रमुख एवं आयोजना प्रमुख धमेन्द्रकुमार झाले बताउनुभया। आयोजना प्रमुख झाका अनुसार अहिले खाल्डाखुल्डी पुर्ने र अन्य आवश्यक व्यवस्थापनको काम भइरहेको छ।

सडकमा सास्ती खेप्नु परेपछि शुक्रबार सिन्धुपाल्चोकमा भएको ठेकेदार, आयोजना र प्रशासन सम्मिलित त्रिपक्षीय छलफलले आजदेखि सोमबारसम्म ३ दिन बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म आवतजावत पूर्णरुपले बन्द गरी सडक मर्मत गर्ने निर्णय गरेको छ ।