जनता टाइम्स

१३ भाद्र २०७९, सोमबार १२:३८

नेपाल प्रहरीले यसरी गर्दैछ चुनावी सुरक्षा तयारी


काठमाडौं, भदौ १३ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेपाल प्रहरीले ७१ हजार ६ सय ९३ प्रहरी कर्मचारी परिचालन गर्ने भएको छ । आम निर्वाचनमा गत वैशाख ३० को सम्पन्न स्थानीय तह निर्वाचनमा करिव १० हजार बढी प्रहरी परिचालन गर्न लागिएको हो ।

प्रहरी महानिरीक्षक धीरजप्रताव सिंहले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिक तथा प्रदेशसभा निर्वाचनमा पनि प्रत्यक्ष र समानुपातिक निर्वाचन हुने भएकाले पनि एक ठाउँमा मत खसालिसकेपछि पुनःअर्को ठाउँमा मत खसाल्नुपर्ने अवस्था रहने हुँदा पनि सुरक्षा जनशक्ति बढी आवश्यक पर्ने जानकारी दिनुभयो ।

प्रहरी प्रवक्ता डिआइजी टेकप्रसाद राईले निर्वाचनलाई निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गर्न स्थानीय तह निर्वाचनभन्दा म्यादी प्रहरी पनि थप २० हजार बढी प्रस्ताव गरिएको जानकारी दिनुभयो । गत स्थानीय निर्वाचनमा एक लाख म्यादी प्रहरी भर्ना गरिएकामा यसपटक एक लाख २० हजार भर्नाका लागि तालकु गृह मन्त्रालयमा प्रस्ताव पेश गरिएको छ । उहाँका अनुसार सङ्घ र प्रदेश निर्वाचनमा कैदीबन्दीसहित पाँच लाख मतदाता बढ्ने र मतदान केन्द्रसमेत थप हुने अनुमान गरिएअनुसार सुरक्षाकर्मी बढाइएको हो ।

गृह मन्त्रालयबाट प्रस्ताव पारित भएर आएपछि मात्रै अन्य औपचारिक काम अघि बढ्ने भन्दै उहाँले अहिले आन्तरिक तयारीका काम चलिरहेको जानकारी दिनुभयो । नेपाल प्रहरीले यसअघि नै प्रहरी अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापाका नेतृत्वमा प्रहरीको केन्द्रीय निर्वाचन सेल र मातहतका कार्यालय, प्रदेश तथा जिल्लामा आवश्यकतानुसार सेल गठन गरी आवश्यक कार्य प्रक्रिया अघि बढाइएको छ ।
प्रदेशमा प्रहरी वरिष्ठ उपरीक्षक, प्रहरी उपरीक्षकको नेतृत्व रहेको जिल्लामा प्रहरी नायब उपरीक्षक तथा प्रहरी नायब उपरीक्षकको नेतृत्व रहेको जिल्लामा प्रहरी निरीक्षकको नेतृत्वमा निर्वाचन सेल गठन गरिएको छ ।

‘उम्मेदवार सङ्ख्या, निर्वाचन कार्यालय, मतदान केन्द्र, निर्वाचन सामग्री, मतपेटिका, मतदानस्थल तथा रुट सबै प्रारम्भिकरुपमा यकिन गरेर आवश्यक सुरक्षा तयारी गरिएको छ’, प्रवक्ता राईले भन्नुभयो, ‘माथिबाट निर्णय भएर आएपछि बाँकी काम अघि बढ्छ ।’ प्रहरीले सामान्य, संवेदनशील र अतिसंवेदनशील छुट्याएर मतदानस्थलको पहिचानसँगै सोहीअनुसार प्रहरी कर्मचारी खटाउने गरी योजना बनाएको छ ।

प्रहरीले यसअघि नै मङ्सिर ४ को सङ्घ र प्रदेश निर्वाचनका लागि कुल एक हजार चार सय ९४ सवारी साधन, सात सय बढी सञ्चार सेट आवश्यक रहेको भनी मन्त्रालयमा लेखेर पठाइसकेको छ । पेश गरिएको प्रस्तावमा आवश्यक हातहतियारको पनि माग गरिएको छ ।

प्रवक्ता राईले हतियार अपुग भएमा नेपाली सेनाबाट बहालगिरीमा ल्याएर प्रयोग गरिने जानकारी दिनुभयो । सञ्चार सेट सम्भव भएन भने प्रहरीका मोबाइललाई सञ्चार सेटका रुपमा प्रयोग गरी उनीहरु लाई रिचार्ज कार्ड उपलब्ध गराउने योजना बनाइएको छ । ‘स्थानीय तहको झैँ सङ्घीय र प्रदेश निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न गर्न नेपाल प्रहरीलाई अवसर आएको छ, यो अवसर जो कोहीलाई आउँदैन, त्यसकारण नेपाल प्रहरीका जवानदेखि अधिकृत उत्साहित छन्, निर्वाचनलाई शान्तिपूर्ण बनाउन आतुर छन,’ प्रवक्ता राईले भन्नुभयो ।

केन्द्रीय सुरक्षा योजना बन्दै

गृह मन्त्रालयले पनि आफ्नो निर्वाचन सुरक्षाको तयारीलाई तीव्र पारेको छ । गृहसचिव टेकनारायण पाण्डेको नेतृत्वमा सबै सुरक्षा निकायका प्रमुख सदस्य रहेको केन्द्रीय निर्वाचन सुरक्षा सेल गठन गरी तीव्ररुपमा कार्य अघि बढाइएको गृह प्रवक्ता फणिन्द्रमणि पोखरेले जानकारी दिनुभयो ।

उहाँले सोहीअनुसार प्रदेश मुख्य सचिवको नेतृत्वमा प्रदेश सुरक्षा समन्वय सेल गठन गरिएको जानकारी दिनुभयो । त्यस्तै प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला निर्वाचन सेल तथा कमाण्ड पोष्ट गठन गरिएको छ । यस्तै केन्द्रीय सुरक्षा योजना पनि बन्दै गरेको उहाँले जानकारी दिनुभयो ।