जनता टाइम्स

११ श्रावण २०७६, शनिबार १२:२७

जाजरकोट अस्पतालमा औषधि अभाव, बिरामीलाई समस्या


जाजरकोट, साउन ११

कर्णाली प्रदेश सरकारको मताहतमा रहेको जाजरकोट अस्पतालमा औषधिको अभाव भएको छ । एक महीनादेखि अस्पतालमा औषधि अभाव भए पनि पूर्ति नहुँदा समस्या भएको अस्पतालले जनाएको छ । इनजेकसन, सिफेकजन, एमपि, कोलकसा, पाराफ्लाम, डिएफओ गेल इनजेकसन, पेनटोप घाउमा लगाउने मलम ,मेयुपेरेसन जीवनजल, टेबलेट, पेनटोपलगायत औषधिको अभाव भएको हो ।

दैनिक पुर्जी लिएर औषधि किन्न फार्मेसीमा बिरामी पुगेपनि औषधि नहुँदा बाहिरका औषधि पसलमा गएर खरीद गर्न बाध्य हुनुपरेको बिरामीले बताएका छन् । विमा गरेका बिरामीले सबैभन्दा बढी समस्या खेपेका छन् । बीमा गरेका बिरामीले समेत औषधि नहुँदा औषधि पसलमा गएर औषधि किन्न बाध्य भएका छन् । औषधि अभावका विषयमा अस्पतालका प्रमुख डा. केसर कार्कीले औषधि केही दिनमा आइपुग्ने बताउनुभयो ।

कर्णाली प्रदेश सरकारले पठाएको बजेट पुरानो हिसाब लेखा परीक्षण नगरुन्जेल चलाउन नपाउने भएकाले समस्या भएको उहाँले बताउनुभयो । निःशुल्क पाइने औषधिसमेत जाजरकोट अस्पतालबाट पाउन छाडेको नलगाड नगरपालिका–६ का थलबीर दमाइले बताउनुभयो । महीना दिन अघि नै औषधि सकिएको प्रशासनलाई जानकारी गराएपनि सुनुवाइ नभएको फार्मेसी विभागले जनाएको छ । औषधि लिन बिरामी आए पनि नपाउँदा रिसाएर जाने गरेका एक कर्मचारीले बताउनुभयो ।