जनता टाइम्स

१५ भाद्र २०७९, बुधबार १९:०१

‘विचार पुर्याएर बोल्नोस’ भनेर देउवा कड्किएपछि . . .


काठमाडौं, १५ भदौ । नेपाली काँग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकमा प्रधानमन्त्री तथा सो पार्टीका सभापति शेरबहादुर देउवाले कड्किदै ‘बोल्दा विचार पुर्याएर बोल्न’ निर्देशन दिनु भएको छ ।

बुधबार बसेको बैठकमा प्रायजसो नेताहरूले सिट बाँडफाँडमा मिल्न सकिने अवस्था नरहेको बताएपछि देउवाले यसरी कड्किनु भएको श्रोतको दावि छ । उहाँले गठबन्धन गर्ने केन्द्रीय समितिको निर्णय भएकाले यसका विरुद्ध कसैले बोल्न नपाउने बताउनु भएको श्रोतले बतायो ।

देउवाको भनाइ उद्धृत गर्दै श्रोतले भन्यो, ‘गठबन्धनको खिलाफमा कसैले नबोल्नू । गठबन्धन व्यक्तिगत निर्णय होइन । यो केन्द्रीय समिति बैठकको निर्णय हो । त्यसकारण सबैको एक स्वर हुुनुपर्छ । कार्यदलमा हुनेहरूले गठबन्धन नटुट्ने गरी वर्कआउट गर्नू । सबैलाई सम्मान हुने गरी सिट मिलाउनू ।’

यसअघि बैठकमा धारणा राख्ने क्रममा १६५ सिट मध्ये काँग्रेसले १०० सिटभन्दा तल झर्न नहुनेमा सबैको एकमत थियो । बैठमा नेता शेखर कोईरालाले ‘गठबन्धन गर्ने त निर्णय भइसक्यो । तर, काँग्रेसले जित्ने सिट अरूलाई दिए, त्यसले न काँग्रेसलाई नत गठबन्धनलाई फाइदा गर्छ’ भन्नुभएको थियो । विमलेन्द्र निधिले लोसपालाई गठबन्धन वाहिर राख्न नहुने धारणा राख्नु भएको बताइएको छ ।

नेता रामचन्द्र पौडेलले २०७४ सालमा आएको मतलाई आधार मान्ने कुरा गलत भएको बताउँदै त्यतिबेला काँग्रेस नराम्ररी हारेको ठाउँमा पनि यसपटक काँग्रेसको लहर रहेको दावि गर्नुभएको श्रोतले बताएको छ ।