जनता टाइम्स

११ श्रावण २०७६, शनिबार १६:३४

टानको नेतृत्व लिन चर्काे दौडधुप : चार ब्यवसायी अध्यक्षका उम्मेद्वार


सिबी अधिकारी/काठमाडौं

पदयात्रा व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान) को निर्वाचन मिति नजिकिँदै जाँदा नेतृत्व लिन प्रतिस्पर्धीको दौडधुप ह्वात्तै बढेको छ । निर्वाचन आउन एक महीनाअघिनै टान अध्यक्षका लागि चार जना व्यवसायीले आफ्नो उम्मेद्वारी घोषणा गरिसकेका छन् ।

टानको आगामी भदौँ २० गते ४१औँ वार्षिक साधारणसभा तथा नयाँ कार्यसमितिका लागि निर्वाचन हुदैँछ । सो निर्वाचनमा टानका प्रथम उपाध्यक्ष खुमबहादुर सुवेदी, द्धितीय उपाध्यक्ष नीलहरि बाँस्तोला, पूर्वमहासविच मोहन लम्साल र व्यवसायी कुमार थापाले नेतृत्वका लागि दाबेदारी प्रस्तुत गर्नुभएको हो । उहाँहरु निर्वाचनको प्रचारप्रसार तथा व्यावसायिक छलफल, गुटगत भेला, राजनीतिक समर्थन जुटाउन दौडधुपमा व्यस्त देखिनुभएको छ । अन्य पदाधिकारीको पदका लागि पनि व्यवसायीहरु प्रचारमा जुटेका छन् ।

टानका अध्यक्ष नवराज दाहाल भने टानलाई व्यावसायिक संस्थाको रुपमा स्थापित गर्न सकभर सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयनको लागि पहल भइरहेको बताउनु हुन्छ । उहाँले व्यावसायिक एकताको सन्देश दिन पनि नेतृत्व सर्वसम्मत चयनका लागि पहल भइरहेको र त्यो सम्भव नभए निर्वाचनमा जाने बताउनुभयो । नजिकिएको नेपाल भ्रमण वर्ष अभियानलाई पनि सार्थक तुल्याउन व्यावसायिक एकता अपरिहार्य रहेकाले पर्यटन प्रवद्र्धनात्मक गतिविधिलाई प्रभावकारी रुपमा अघि बढाउन आवश्यक पहल गरिएको अध्यक्ष दाहालको भनाइ छ । अध्यक्षका दावेदारले संस्थाको नेतृत्वका लागि आ–आफ्नो अपरिहार्यता र महत्वकांक्षी कार्ययोजनासमेत अघि सारेका छन् । अध्यक्षका प्रत्यासी खुमबहादुर सुवेदीले टान नेतृत्वका लागि आफूले उम्मेदवारी घोषणा गरेको र समूह निर्माणमा जुटेको राससलाई जानकारी दिनुभयो ।

‘मप्रति व्यवसायीको विश्वास रहेको र संस्थालाई फरक ढङ्गले अघि बढाउने उद्देश्यले प्रतिस्पर्धामा होमिएको छु,’ उहाँले भन्नुभयो । अध्यक्षको दावेदार पर्यटन व्यवसायी लम्सालले पदयात्राभित्रको विकृति नियन्त्रण गर्न एक मात्र अर्जुन दृष्टिसाथ नेतृत्वमा जान चाहेको स्पष्ट पार्नुभयो । उहाँले छिट्टै आफ्नो समूह बनाएर निर्वाचनका एजेण्डा घोषणा गर्ने बताउनुभयो । अध्यक्षका अर्का आकांक्षी थापाले व्यवसायीको सुझावका आधारमा टानलाई व्यावसायिक संस्थाको रुपमा स्थापित गर्ने लक्ष्यसाथ नेतृत्वमा जान चाहेको बताउँदैँ समूह बनाउन छलफल गरिरहेको उल्लेख गर्नुभयो । त्यस्तै अर्का आकांक्षी बाँस्तोलाले टानको विश्वसनीयता अभिवृद्धि गरी यसको भूमिकालाई बढाउँदै भ्रमण वर्ष २०२० लाई सफल बनाउन व्यवसायीको तर्फबाट आफूले पहल गर्ने बताउनुभयो ।

पछिल्लो समयमा विभिन्न पर्यटकीय संस्थामा राजनीतिक गुटबन्दी हुने गरेको छ । पर्यटन क्षेत्रसँग आवद्ध झण्डै ४० सङ्घ संस्था छन् । मुख्यतः टान, नेपाल पर्वतारोहण संघ, नेपाल एशोसिएशन अफ टूर्स एण्ड ट्राभललगायत संस्थाको विगतमा भएका निर्वाचनमा विभिन्न राजनीतिक दल निकट भएर चुनावी प्रतिस्पर्धामा होमिएका थिए । व्यावसायिक संस्थाभित्र राजनीति हाबी हुँदा समग्र पर्यटनका गतिविधिमा एकता र प्रवद्र्धन प्रभावकारी नहुने यस क्षेत्रका विज्ञ बताउँछन् । निर्वाचनका लागि कार्यसमिति बैठकले प्रमुख निर्वाचन अधिकृतको जिम्मेवारी कानूनी सल्लाहकार रमेश मैनालीलाई दिइएको छ । रासस