जनता टाइम्स

११ श्रावण २०७६, शनिबार १९:१०

सांसद किसान श्रेष्ठले सुनाए तनहुँ बिकाशको मोडल, रामचन्द्र पौडेल जस्तो पूर्वाग्रही नबन्ने अठोट


तनहुँ, साउन ११ । नेकपाका नेता तथा संघीय संसदका सदस्य कृष्णकुमार श्रेष्ठ, किसानले विकासको नाममा कसैले पनि राजनीति गर्न नहुने बताउनु भएको छ । गृहजिल्ला तनहुँको व्यास नपा १ ठुलोगाउँस्थित ठुलोगाउँ टोल समुह र लालीगुराँस आमा समुहले आज आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै सांसद श्रेष्ठले चुनावअघि जुनसुकै पार्टीको उम्मेदबार भएपनि चुनाव जितेपछि सबै जनताको प्रतिनिधि हो भन्ने मानसिकता राख्नु पर्ने बताए ।

विगतका जनप्रतिनिधिले यस्तै पुर्वाग्रह राखेकै कारण तनहुँ विकासमा निकै पछाडि परेको भन्दै सांसद श्रेष्ठले आफ्नो कार्यकालमा कुनै पुर्वाग्रह र विभेद हुन नदिने प्रष्ट पारे । आफु तनहुँ जिल्लाको विकासको लागि सांसद भएको भन्दै उनले आफ्नो सम्पुर्ण समय र ध्यान जिल्लाकै विकासमा खर्चने घोषणा गर्नुभयो । अहिले देश संघीय संरचनाको कारण विकासको काममा पनि सबै तहको आआफ्नै क्षेत्राधिकार भएको भन्दै सही काममा सदुपयोग गर्न सुझावसमेत दिनुभयो । तीन तहको सरकारका आफ्नै योजना रहेको कारण पनि आफुले चाहेर पनि सबै ठाउँठाउँमा बजेट विनियोजन गर्न समस्या भएको सांसद श्रेष्ठको भनाई थियो ।

छाब्दी मार्ग कालोपत्रे गर्ने आफ्नो पहिलो प्रतिबद्धता पुरा भएको स्मरण गर्दै सांसद श्रेष्ठले वडा नम्बर १ का अन्य विकासका काममा पनि सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । लालीगुराँस आमा समुहको भवन निर्माणमा आफ्नो तर्फबाट सक्दो सहयोग हुने विश्वास दिलाउँदै उहाँले भवन शिलान्यास र उद्घाटन गर्न पनि आफै नै आउने प्रतिबद्धता जनाउनुभयो ।

ठुलो गाउँ टोल विकास संस्थाका अध्यक्ष मेजर रामबहादुर केसीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा व्यास नपा वडा नम्बर ४ का अध्यक्ष विश्व न्यौपाने, टोलका सल्लाहाकार गंगाप्रसाद पोख्रेल, लालीगुराँस आमा समुहकी अध्यक्ष शारदा बसौला लगायतले मन्तव्य राख्नुभएको थियो । सो अवसरमा आमा समुहका सदस्यहरुले आफुहरुले देउसी भैलो खेलेर र नाचगान गरेर संकलन गरेको रकमले ६ आना जग्गा खरिद गरेको हुँदा उक्त जग्गामा आमा समुहको भवन बनाउने क्रममा सहयोग गर्न सांसद श्रेष्ठलाई अनुरोध गर्नुभएको थियो ।