नवलपुर, भदौ १९ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि उम्मेदवार बन्न नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइराला र उद्योगपति बिनोद चौधरीले एउटै निर्वाचन क्षेत्र रोज्नुभएको छ ।
कांग्रेस सभापति तथा प्रधानमन्त्रीका बिश्वासपात्र बिनोद चौधरी कांग्रेसका प्रतिनिधि सभाका समानुपातिक सदस्य हुनुहुन्छ । उहाँले कोइरालाकै क्षेत्रमा धावा बोलेपछि नवलपुरमा चरंग आएको छ । दुबैजनाले पूर्वी नवलपरासी (नवलपुर) को निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बन्न आवेदन दिएको नेपाली कांग्रेसका जिल्ला सचिव होमराज रानाभाटले जानकारी दिनुभयो ।
उक्त निर्वाचन क्षेत्रबाट डा कोइरालाले ३ पटक चुनाव जित्नुभएको छ । यसपटक पनि सोही निर्वाचन क्षेत्रबाट उहाँको चुनाव लड्ने तयारी छ । त्यसो त उद्योगपति चौधरीले २ नं क्षेत्रबाट पनि प्रतिनिधि सभा सदस्यमा चुनाव लड्न आवेदन दिएको पार्टी जिल्ला सचिव रानाभाटले बताउनु भयो ।
जिल्लामा २ निर्वाचन क्षेत्र छन् । नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्यमा चुनाव लड्नका लागि कुल १४ जनाले आवेदन दिएका छन् । जसअनुसार निर्वाचन क्षेत्र नं १ बाट ८ जना र क्षेत्र नं २ बाट ६ जनाले आवेदन दिएको पार्टीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्