जनता टाइम्स

१९ भाद्र २०७९, आईतवार १५:१३

शेखरलाई तह लगाउन खुलेरै लागे देउवा, गृहजिल्ला मोरङमा खेले यतिसम्मको खेल


बिराटनगर, भदौ १९ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूबिरुद्ध सभापतिको उम्मेदवार बनेका डा. शेखर कोइरालाबिरुद्ध अभियान नै चलाउनु भएको पाइएको छ ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति देउवालाई चुनौती दिएसँगै गृहजिल्ला मोरङमा संस्थापन पक्षको प्रहारमा पर्दै आउनु भएका नेता कोइरालालाई आफ्नो क्षेत्रबाट सर्वसम्मत उम्मेदवार सिफारिस हुनबाट देउवाकै निर्देशनमा बञ्चित गर्दै बिरोधीबिरुद्ध कडा रुपमा प्रस्तुत भएको पाइएको छ । मोरङ–६ बाट चुनाव लड्दै आउनु भएा कोइराला २०७४ मा एमाले उम्मेदवार लालबाबु पण्डितसँग पराजित हुनुभएको थियो ।

देउवाले नै कुनै हालतमा शेखरलाई सर्वसम्मत हुन नदिनु भन्ने निर्देशन दिएपछि उहाँ सर्वसम्मत हुन नसकेको कांग्रेसकै नेताहरुले बताएका छन । सर्वसम्मत हुन नसकेपछि क्षेत्रीय समितिले डा. शेखर कोइराला, डिला संग्रौला, रमेशजंग रायामाझी र शिवकुमार बस्नेतको नाम प्रतिनिधि सभाका लागि सिफारिस गरेको छ । संग्रौला अहिले पनि प्रतिनिधि सभा सदस्य हुनुहुन्छ भने रायामाझी राष्ट्रिय सभाका दलका नेता हुनुहुन्छ । उहाँहरू दुबै संस्थापन (देउवा) पक्षका हुनुहुन्छ । बस्नेत भने कोइराला टिमकै सदस्य हुन ।

कोइराला समूहको बलियो उपस्थिति रहेको क्षेत्रीय समिति कोइरालाको मात्रै नाम सिफारिस गर्ने योजनामा थियो । तीन दिनसम्म यसबारे क्षेत्रीय समितिमा रस्साकस्सी चलेको थियो। संस्थापन पक्षका नेताहरूले दाबी नछाडे पछि चार जनाको नाम सिफारिस भएको हो । मोरङको अन्य क्षेत्रहरूमा पनि उम्मेदवार सिफारिस भएका छन ।

जसअनुसार क्षेत्र नम्बर १ बाट जिल्ला सभापति डिगबहादुर लिम्बु, रामप्रसाद पोखरेल, आरती बराल, जयधर्म आचार्य, २ बाट डा. मीनेन्द्र रिजाल र सुजता कोइराला, ३ बाट सुनिल शर्मा, ४ बाट महेश आचार्य, अमृत अर्याल, भीम पराजुली, गुरुराज घिमिरे र दिलीप गच्छदार र क्षेत्र नम्बर ५ बाट अमृत अर्याल र हसन अन्सारीको नाम सिफारिस भएको छ । दुई क्षेत्रबाट सिफारिसमा परेका अर्याल देउवा निकट हुनुहुन्छ । मोरङ कांग्रेसका एक नेताल दिएको जानकारीअनुसार संस्थापन पक्षले शेखरलाई साइजमा राख्नकै लागि सर्वसम्मत हुन नदिएको बताएका छन ।