मोरङ, भदौ १९ । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री भानुभक्त ढकाल मोरङ ३ बाट सर्वसम्मत उम्मेदवार सिफारिश हुनुभएको छ । निर्वाच क्षेत्रीय कमिटीको आज बसेको बैठकले ढकाललाई सर्वसम्मत बनाउँदै एकल नाम सिफारिश गरेको हो ।
मोरङको अन्य दुई क्षेत्रमा पनि एकल नाम सिफारिश भएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि एमालेले मोरङका ४ वटा निर्वाचन क्षेत्रका उम्मेदवारको नाम सिफारिस गरेको छ। प्रतिनिधिसभाका लागि सिफारिस हुनेहरुमा पूर्वमन्त्री, संविधानसभा सदस्यदेखि प्याब्सनका पूर्व अध्यक्षसमेत रहेका छन्।
क्षेत्रीय समन्वय कमिटीहरुले आज बैठक बसेर नाम सिफारिश गरेको हो । ४ वटा क्षेत्रले नाम सिफारिस सकेका छन्। क्षेत्र नम्बर २, ३ र ४ बाट एकल नाम सिफारिस भएको छ। क्षेत्र नम्बर २ बाट मोरङ अध्यक्ष तथा संविधानसभा सदस्य ऋषिकेश पोखरेलको एकल नाम सिफारिस भएको छ। ०७० सालको चुनावमा नेपाली कांग्रेसका आमोद उपाध्यायलाई पराजित गरेका पोखरेल २०७४ को निर्वाचनमा नेपाली कांग्रेसका नेता डा। मीनेन्द्र रिजालसँग पराजित हुनुभएको थियो ।
क्षेत्र नम्बर ३ बाट स्थायी कमिटी सदस्य भानुभक्त ढकालको एकल नाम सिफारिस भएको छ। २०७४ को निर्वाचनमा ढकाल सोही क्षेत्रबाट कांग्रेसका सुनील शर्मालाई पराजित गर्दै निर्वाचित हुनुभएको थियो । क्षेत्र नम्बर ४ बाट केन्द्रीय सदस्य विनोद ढकालको नाम सर्वसम्मत सिफारिस भएको छ। चर्चित युवा नेता ढकाल सो क्षेत्रमा निकै लोकप्रिय हुनुहुन्छ ।
यस्तै क्षेत्र नम्बर ६ बाट स्थायी कमिटी सदस्य लालबाबु पण्डित र प्याब्सनका पूर्वअध्यक्ष टीकाराम पुरीको नाम सिफारिस भएको छ। सो क्षेत्रबाट पण्डितले २०७४ को निर्वाचनमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालालाई पराजित गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्