जनता टाइम्स

१९ भाद्र २०७९, आईतवार १७:२६

प्रचण्डको स्वीकारोक्ति : चुनावपछि सडकमा पुगिन्छ


काठमाडौं, १९ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनपछि क्रमभंग गर्न सडकमा जाने घोषणा गर्नुभएको छ ।

काठमाडौंमा आइतबार मार्क्सवादी ज्ञान केन्द्रले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आगामी निर्वाचनपछि मौजुदा शासन प्रणाली र निर्वाचन प्रणाली परिवर्तन गर्न आफ्नो पार्टी सडकमा जाने घोषणा गर्नुभएको हो । केहीदिनअघि उहाँले नै आगामी निर्वाचनमा बहुमत ल्याएर प्रधानमन्त्री बन्ने बताउनु भएको थियो ।
गठबन्धनबीच चुनावी तालमेल सकसपूर्ण बनीरहेको अवस्थामा उहाँले सडकमा जाने घोषण गर्नु भएको हो ।

समाजवाद प्राप्त गर्न सडकको जानुको विकल्प नरहेको कुरा उहाँले बताउनु भए पनि कतिपयले निर्वाचनमा शर्मनाक हारको प्रचण्डको स्वीकारोक्तिको रूपमा बुझेका छन् । उहाँले कहिले एमालेसँग मिल्ने त कहिले मागेजति सिट नपाए देखाइदिने धम्की दिदैं आउनु भए पनि काँग्रेसले टेरपुच्छर नलगाएपछि सडकको धम्की दिएको पनि कतिपयको बुझाइ छ ।

माओवादी केन्द्रसंग चुनावी तालमेल गरे पनि प्रचण्डको यही स्वभावका कारण सधैंभरी दवावमा बस्न नसकिने भएकाले एकल बहुमत ल्याउने नभए मधेसवादीलाई साथ लिएर सरकार बनाउन पुग्ने बहुमत प्राप्त गर्ने काँग्रेस रणनीति रहेको छ । यो कुरा चतुर खेलाडी प्रचण्डले नबुझ्ने कुरा भएन । कमसेकम आगामी संघीय र प्रदेश निर्वाचनमा माओवादीसँग मिल्न नसक्ने कुरामा ढुक्क हुन काँग्रेसलाई एमालेले आश्वस्त पारेपछि प्रचण्डको दोश्रो धम्की भएको राजनीति विश्लेषकको ठहर छ ।