जनता टाइम्स

२० भाद्र २०७९, सोमबार १७:५६

माओवादी-कांग्रेस त्यागेर एमाले भित्रिए ठूलो समुहसहित यी चर्चित नेता


काठमाडौं, भदौ २० । पर्यटन व्यवसायी तथा समाजसेवी प्रकाश गौतम, माओवादी केन्द्रका पूर्व लडाकू सुगम रेग्मीसहित विभिन्न पार्टी परित्याग गरी ठूलो संख्यामा युवा नेताहरु एमाले प्रवेश गर्नुभएको छ ।

एमाले केन्द्रीय कार्यालयमा आज आयोजित बिशेष समारोहबीच उपाध्यक्ष सुवास नेम्वाङ, महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य भानुभक्त ढकालले टीका र खादा लगाई स्वागत गर्नुभयो । आज एमाले प्रवेश गर्नेमा ४ सय ५० जना भन्दा युवा नेता कार्यकर्ता रहेका छन । पर्यटन व्यवसायी गौतम काठमाडौंको बूढानीलकण्ठ निवासी हुनुहुन्छ । उहाँ झापाको विर्तामोडमा सञ्चालनमा रहेको होटल किङ्सवरिका अध्यक्ष हुनुहुन्छ ।

पार्टी प्रवेश गर्नेमा मनिषा सुवेदी गौतम र माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य अनुप तिमिल्सिना, माओवादी केन्द्रका पूर्व लडाकू सुगम रेग्मी लगायत हुनुहुन्छ । माओवादी केन्द्रका पूर्व लडाकू रेग्मीले आफूसँगै ५६ जना युवा साथीहरू एमालेमा प्रवेश गरेको वताउनुभयो । उहाँहरू पार्टी प्रवेशका लागि बाजा बजाउँदै पार्टी कार्यालय आइपुग्नुभएको थियो । पार्टी प्रवेश गर्नेहरूमा अधिकांश माओवादी र नेपाली काँग्रेसका युवाहरू हुनुहुन्छ ।

पार्टीमा नवप्रवेशीहरूलाई स्वागत गर्दै उपाध्यक्ष नेम्वाङले नेकपा (एमाले) र यसका अध्यक्ष केपी शर्मा ओलीलाई बाह्य शक्तिको समेत षडयन्त्रमा घेराबन्दी गरिए पनि नेपाली जनताले एमाले र यसको नेतृत्वलाई माया र विश्वास गर्नु सुखद पक्ष हो भन्नुभयो । देशभर एमाले प्रवेशको लहर चलिरहेको वताउँदै उपाध्यक्ष नेम्वाङले आगामी निर्वाचनमा अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अगाडि सारेर पार्टी निर्वाचन अभियानमा होमिइसकेकाले एमालेको सरकारले विगतमा गरेका राम्रा काम लिएर जनतामा जाँदा सफलता प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

वर्तमान गठबन्धन सरकारले देश र जनताका हितमा कुनै काम गर्न नसकेको र जे गरिरहेको छ गलतमात्रै गरिरहेको चर्चा गर्दै प्रमुख प्रतिपक्ष एमालेले गलत काममा आवाज उठाउँदा टेरपुच्छर नलगाउने गठबन्धनलाई जनताको अदालतले सजाय दिने उहाँको भनाई थियो । उपाध्यक्ष नेम्वाङले नवप्रवेशी साथीहरूलाई पार्टीले उपयुक्त जिम्मेवारी दिने, पार्टीमा काम गर्ने अवसर पाउने र पश्चाताप गर्ने दिन नआउने विश्वास दिलाउँदै स्वागत र शुभकामना व्यक्त गर्नुभयो ।

नवप्रवेशीमध्येबाट पर्यटन व्यवसायी प्रकाश गौतमले समृद्ध नेपाल सुखी नेपाल को राष्ट्रिय अभियान लिएर काम थाल्नुभएका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई देशीविदेशी षडयन्त्रका कारण सरकार छाड्नुपरे पनि आगामी निर्वाचनमा एमालेलाई विजयी बनाई अध्यक्ष ओलीको कार्यकालका विकास निर्माण लगायतका काम पुनः अगाडि बढाउने अवसर सिर्जना गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

उहाँले आफू एमालेमा प्रवेश गरे पनि राजनीति भन्दा पनि सेवाको दृष्टिकोणले काम गर्ने बताउनुभयो । पार्टी प्रवेश कार्यक्रमलाई पार्टीका केन्द्रीय सदस्य गंगा चौधरी सत्गौवा र दीपक राउतले समन्वय र सहजीकरण गर्नुभएको थियो ।