जनता टाइम्स

१२ श्रावण २०७६, आईतवार १४:४३

उत्तर कोरियाद्वारा रुसी डुङ्गा मुक्त


सियोल, साउन १२

उत्तर कोरियाले आफ्नो जलक्षेत्रमा जबर्जस्ती प्रवेश गरेको भन्दै नियन्त्रणमा लिएको एउटा माछा मार्ने डुङ्गा छाडिदिएको रुसी अधिकारीहरुले बताएका छन् । प्योङयाङस्थित रुसी राजदूतावासका अनुसार उक्त डुङ्गामा १५ जना रुसी र दुई जना दक्षिण कोरियाली सवार थिए ।

गत जुलाई १७ मा रसियन नर्थ–इस्टर्न फिसिङ कम्पनीको उक्त डुङ्गा उत्तर कोरियाली सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए । सियाङ हाई लीन ८ नाम दिइएको उक्त डुङ्गा स्थानीय समय अनुसार शनिबार साँझपख उत्तर कोरियाली बन्दरगाह वोनसानबाट रुसतर्फ प्रस्थान गरेको रुसी राजदूतावासले जनाएको छ ।

दक्षिण कोरियाली एकीकरण मन्त्रालयले उक्त डुङ्गा सुरक्षित रुपमा फर्किएकामा सन्तोष व्यक्त गरेको छ । उक्त डुङ्गा आइतबार अपराह्न दक्षिण कोरियाको सोक्चो आइपुगेको छ । उक्त डुङ्गा दक्षिण कोरियाबाट जापानी समुद्रमा गंगटा मार्दै उत्तरतर्फ गएको थियो ।

अधिकारीहरुका अनुसार उक्त डुङ्गा उत्तर कोरियाली सीमाबाट करिब १०० मिटर टाढा रहेको थियो । रुसी तट रक्षकहरुले पनि काठको डुङ्गामा बसेर माछा मार्ने उत्तर कोरियालीहरुलाई बारम्बार पक्राउ गर्ने र लामो समय जेलमा राख्ने गरेको बताइएको छ ।