जनता टाइम्स

२४ भाद्र २०७९, शुक्रबार १३:१०

एमालेले दियो लोसपालाई सुझाव : पहिले कित्ता क्लियर गर्नुस्


काठमाडौं, २४ भदौ । नेकपा (एमाले) ले चुनावी तालमेल को–संग गर्ने भन्ने कित्ता क्लियर गर्न लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई सुझाव दिएको छ । मधेसमा चुनावी तालमेलका लागि लोसपासंग छलफल भइरहेको एमाले नेता विष्णु रिमालले बताउनुभयो ।

‘उहाँहरूलाई पहिले कित्ता क्लियर गरेर आउनुस् भनेका छौ’ नेता रिमालले भन्नुभयोे । किनभने लोसपा काँग्रेससंग पनि तालमेल गर्ने दाउ हेरेर बसेको छ । काँग्रेस नेता विमलेन्द्र निधि लोसपासहितको गठबन्धन हुनु पर्छ भनिरहनुभएको छ ।

लोसपा नेता डा. सुरेन्द्र झाले दिनुभएको जानकारी अनुसार लोसपाले राष्ट्रिय पार्टीहरूसँग छलफल गर्ने जिम्मा अध्यक्ष महन्थ ठाकुरलाई दिएको छ । ठाकुरले गठबन्धनको विषयमा एमाले अध्यक्ष ओलीसँग छलफल गरेको उहाँले जानकारी दिनुभयो ।

‘गठबन्धन सम्बन्धी निर्णय गर्ने सम्पूर्ण अधिकार अध्यक्षज्यूलाई हामीले दिएका छौं । उहाँले एमाले अध्यक्ष ओलीसँग कुराकानी गर्नुभएको छ,” उहाँले भन्नु भयो।

एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले चुनावी सहकार्यका लागि छलफल भइरहेको जानकारी दिनुभयो । ‘हामी छलफलमा छौं । छलफल सकारात्मक छ,’ उहाँले भन्नुभयो ।

एमालेले लोसपासँग प्रभाव रहेको मधेस प्रदेश अरु केही क्षेत्रमा तालमेल गर्ने तयारी गरेको छ । ‘लोसपा कांग्रेससँग पनि छलफलमा छ । हामीसँग पनि छलफल गरिरहेको छ । पहिले लोसपा नै स्पष्ट हुनुपर्छ । कता गठबन्धन गर्ने भन्ने कुरामा क्लिएर हुनुस् भनेका छौं ,’ रिजालले भन्नुभयो ।