काठमाडौं, २४ भदौ । पूर्वराजा ज्ञानेन्द्र शाहले बेलायती महारानी एलिजाबेथ द्वितीयाको निधन खबरले दुःखी बनाएको बताउनुभएको छ ।
बिहीबार बेलायती महारानी एलिजाबेथको ९६ वर्षको उमेरमा निधन भएको थियो । पूर्वराजा ज्ञानेन्द्रको तर्फबाट उनका संवाद सचिव डा फणीराज पाठकले शुक्रबार शोक सन्देश जारी गर्दै महारानी एलिजाबेथप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोक सन्तप्त राजपरिवार, बेलायती सरकार एवं बेलायती जनताप्रति समवेदना प्रकट गर्नुभएको छ ।
महारानी एलिजाबेथ द्वितीयप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोक सन्तप्त राजपरिवार, बेलायती सरकार एवं बेलायती जनताप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ,’ शोक सन्देशमा उल्लेख छ ।
सात दशक राजगद्दीमा बसेर शालीन र उच्च राजकीय मूल्य निर्वाह गरेको र नेपालप्रति देखाएको अगाध आत्मीयता स्मरण भइरहने पूर्वराजा ज्ञानेन्द्रले उल्लेख गर्नुभएको छ ।
पूर्वराजा ज्ञानेन्द्रले जारी गरेको शोक सन्देश
संयुक्त अधिराज्यकी महारानी एलिजाबेथ द्वितीयाको निधनको खबर सुनेर हामीलाई दुःख लागेको छ । स्वर्गीय महारानी राजगद्दीमा ७ दशक अवधि विराज भएर उहाँले शालीन र उच्च राजकीय मूल्य निर्वाह गरिबक्सेको कुरा सदा स्मरणीय छ । साथै नेपालप्रति उहाँको अगाध आत्मीयता पनि सदा उल्लेख्य छ ।
नेपाल र संयुक्त अधिराज्यबीच दुई शताब्दिभन्दा बढी समयदेखि स्थापित भएको दौत्य सम्बन्धको स्मरण गर्दै विभिन्न भ्रमणका अवसरमा स्वर्गीय महारानीसँगको भेट वार्तालाई गहनतम प्राथमिकता दिएका छौं ।
उहाँप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोक सन्तप्त राजपरिवार, बेलायती सरकार एवं बेलायती जनता प्रति हार्दिक समवेदना प्रकट गर्दछौँ ।














प्रतिक्रिया दिनुहोस्