काठमाडौं, २७ भदौ । डा.गोविन्द केसी अनसन बस्न धनगढी पुग्नुभएको छ । आज साँझदेखि अनसन बस्नका लागि उहाँ काठमाडौंबाट धनगढी प्रस्थान गर्नुभएको हो ।
आफूले अघि सारेका ६ बुँदे मागको सम्बोधन नभएको भन्दै उहाँ अनसन बस्न धनगढीतिर पुगेको केसीका सहयोगी प्रितम सुवेदीले जानकारी दिनुभयो । धनगढीमा कहाँ बस्ने भन्ने अहिले नै फिक्स भइसकेको उनले बताउनुभयो । उनी सोमबार बिहानको फ्लाइटमा धनगढी गएको उहाँले बताउनुभयो ।
केसीले १२ भदौमा पत्रकार सम्मेलन गर्दै ६ बुँदे मागसहित अनसनको घोषणा गर्नुभएको थियो । उहाँले स्वास्थ्य क्षेत्र र अन्य सरोकारका आफूले उठाएका माग सम्बोधन नभए भदौ २७ देखि अनसन सुरु गर्ने घोषणा यसअघि नै गरिसक्नुभएको थियो ।
तोकिएको दरबन्दी अनुसारको क्षमताभन्दा बढी बेडमा चलिरहेका सरकारी अस्पतालहरूको दरबन्दी तत्काल हालको बेड संख्याअनुसार बढाइनुपर्ने, गुणस्तरीय स्वास्थ्य सेवा दिनुपर्ने, आधारभूत स्वास्थ्य सेवा निःशुल्क गरिनुपर्ने, स्थानीय निकायको बजेटको आधा हिस्सा स्वास्थ्य क्षेत्रमा लगानी गरिनुपर्ने, अवैधानिक स्वास्थ्य संस्थाहरूमाथि नियन्त्रण गरिनुपर्ने लगायतका माग उहाँले अघि सार्नु भएको छ ।













प्रतिक्रिया दिनुहोस्