जनता टाइम्स

१३ श्रावण २०७६, सोमबार १०:०७

ठेकेदारलाई महेश बस्नेतको चेतावनी : नेताको चाकरी गरेर बिकाश निर्माणमा ढिलासुस्ती गर्ने दिन सकियो


भक्तपुर, साउन १३ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता महेश बस्नेतले जनताको दवाव नै निर्णायक तथा अन्तिम रहेको यथार्थ स्वीकार गर्दै बिकाश निनर्माणको काममा ढिलासुस्ती नगर्न ठेकेदारलाई चेतावनी दिनुभएको छ । कुनै पनि नेताको चाकरी गरेको भरमा विकास निर्माणमा ढिलासुस्ती तथा लापरवाही गर्ने निर्माण कम्पनीको दिन अव समाप्त भएको घोषणासमेत बस्नेतले गर्नुभएको छ ।

भक्तपुरको भत्केकोपाटी हुँदै पर्यटकीय क्षेत्र नगरकोट पुग्ने सडक ६ वर्षसम्म निर्माण समपन्न नभइ अलपत्र रहेको सडक अनुगमनका क्रममा सांसद बस्नेतले नगरकोट जाने सडक निर्माण सम्पन्न नभएका कारण दुई पटक अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमहरु हुन नसकेको बताउनु भयो । उहाँले भिजिट नेपाल २०२० मा नगरकोटमा पर्यटक ल्याउन नसके भक्तपुर आर्थिक विकास र समृद्धिमा पछि पर्नु भएको बताउँदै निर्माण कम्पनी जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।

आगामी दिनमा अलपत्र हैन, ठोस योजनाका साथ निर्माण सम्पन्न गरी नगरकोटको भाग्य र भविष्य खुल्ला गर्नुपर्नेमा उहाँको जोड थियो । उहाँले सरकारको अंगको रुपमा सडक विभाग तथा प्रविधिको रुपमा ठेकेदार रहेको बताउँदै उहाँले ठेकेदारले काम नगर्ने अनि गाली प्रधानमन्त्री तथा पार्टीका अध्यक्षलाई जाने गरेको भन्दै सचेत गराउनु भयो ।प्रतिनिधिसभा विकास तथा प्रविधि समितिले आइतवार सो सडकको अनुगमन गरेको थियो । समितिले बैठक बसेर सरकारलाई उचित निर्देशन दिने अपेक्षा गर्दै पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले सडक निर्माणको क्रममा जनस्तर तथा जनप्रतिनिधिबाट दिएको दवाव समितिको निर्देशनपछि प्रभावकारी तथा परणाममूखी हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

भक्तपुरमा हुने धेरै समस्याहरु जनप्रतिनिधि, जिल्ला प्रशासन, प्रहरी, सम्बनधीत निकाय तथा सरोकारवाला व्यक्तिहरुबीच छलफलको माध्यमबाट समस्या समाधान भएको उदाहरण प्रस्तुत गर्दै काममा गुणस्तरियता कायम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले उक्त निर्माणाधिन सडकमा प्रयोग गरिएको कमसल सामग्री रहेको बताउँदै उक्त सडकमा रकम थप गरेर भए पनि आसपाल लगाई पिच गरी गुणस्तरिय काम गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले डिपिआर गर्ने कम्पनीले बस्तुनिष्ट डिपिआर गर्नुपर्ने जसलाई सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । प्राविधिक अध्ययन सामाजिक भौगोलिक रुपमा गर्नुपर्ने बताउँदै उहाँले सरकारी समस्याका कारण केही काममा अवरोध हुने गरेको तर भक्तपुरका अधिकाशं ठाउँमा समस्या नभएको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, ‘विगतमा टेवलमा बसेर काम टुंग्याउने कार्य भएको तर पछिल्लो समय डिपिआर गर्ने प्रणालीको विकासले केही मात्रामा समस्या हल हुँदै गएको छ । तर डिपिआर गर्ने कम्पनीले वस्तुनिष्ट नगर्ने गरेका छन् । यसलाई सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्छ ।’

अनुगमनका क्रममा निर्माण व्यवसायी शारदा प्रसाद अधिकारीको स्वामित्वमा रहेको निर्माण कम्पनी शैलुङ्ग कंस्ट्रक्सनले नगरकोट पर्यटन व्यवसाय समेत धरासायी भएको भन्दै स्थानीयवासीले आक्रोस समेत व्यक्त गरे । स्थानीय दवास समुहका अध्यक्ष राजकुमार लामिछानेले भक्तपुर क्षेत्र नं १ का प्रतिनिधिसभाका सांसद तथा नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवाललाई जनताले चिन्न समेत समस्या भएको बताउँदै सांसद सुवाल जनताको समस्या तथा सुख दुःखमा उपस्थित नहुने गरेको बताउनुभयो । उहाँले वर्तमान समयमा उक्त सडकको समस्याहरु प्रस्तुत गर्दै निर्माण कम्पनीले चरम लापरवाही गरेको जानकारी गराउनुभयो । उहाँले सडक निर्माणका क्रममा कुनै समस्या उत्पन्न भए स्थानीयवासीले नै समाधान गर्ने भन्दै निर्माण कम्पनीले कुरा गर्ने तर काम नगर्ने गरेको बताउनुभयो ।

पर्यटन व्यवसायी धनबहादुर लामाले शारदा अधिकारी ठेगदार पर्नु नै नरकोटको दुर्भाग्य भएको बताउँदै विदेशीको गालीले नेपालीको शिर झुकेको बताउनुभयो । त्यस्तै स्थानीयवासी यादव अधिकारी, मोहन वीर श्रेष्ठ, धिरज वाइवालगायतले सडकको वर्तमान अवस्थाले भोग्नुपरेको समस्याको वारे जानकारी गराउँदै आगामी दिनको योजनाको समेत माग गर्नुभयो ।

स्थानीयवासीले समेत निर्माण कम्पनी तथा सरोकारवाला निकायसँग २ वर्षमा निर्माण सम्पन्न गर्नुपर्ने काम ६ वर्षसम्म सम्पन्न गर्न नसक्नुको दोष निर्माण कम्पनी की सरकारको भएको भनि प्रश्न गरेका थिए । जसमा उत्तर दिँदै कम्पनीका प्रतिनिधि सुदन गैरेले सरकारद्वारा रकम निकासा नगरेको, करिव ३० महिनासम्म निर्माण स्थलमा रुख काट्न नपाएको, दिनमा टिपर चलाउनु नपाउने र रातमामात्र चलाउनुपर्ने भएकाले आवश्यक सामग्री व्यवस्थापन गर्न नसकेकोले निर्धारित समयमा सम्पन्न गर्न नसकेको बताउनुभयो । उहाँले हालसम्म करिव ६० प्रतिशत प्रगति भएको साथै ९५ प्रतिशत स्ट्रक्चर तयार भइसकेकोले यो आर्थिक वर्षभरमा निर्माण सम्पन्न गरिसक्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

आयोजना प्रमुख जगत प्रजापतिले निर्माण कम्पनीले पटक पटक म्याद थप गरेको तर निर्माण सम्पन्न नगरेको बताउँदै अब पुन म्याद थप्न उक्त सडक सम्पन्न गर्ने आधार तयार भएमा मात्र थप्न सकिने जानकारी गराउनुभयो । उहाँले आयोजनामा निर्माण कम्पनीले गरेको प्रतिवद्धता प्रभावकारी हुने देखिएमा १ महिना भित्रमा म्याद थप हुने साथै रोकिएको रकम पनि १ महिनामा नै निकाशा हुने समेत जानकारी गराउनुभयो ।

स्थलगत निरिक्षण पछि स्थानीयवासीसँग भएको अन्तरक्रिया कार्यक्रममा भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले जहाँ समस्या त्यहाँ सरकार रहेको बताउँदै निर्माण कम्पनीले प्रतिवद्धता व्यक्त गर्ने तर कार्यान्वयन नगर्ने गरेको जानकारी गाराउनुभयो । उहाँले भक्तपुरका अन्य अधिकाशं आयोजनाहरु तिव्र गतिका साथ अघि बढिरहेको साथै केही समस्या आएमा जिल्ला प्रशासन, जनप्रतिनिधि तथा सरोकारवाला निकायहरु समाधान गर्न हरदम तयार रहेको समेत प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा भक्तपुर जिल्ला समन्यव समितिका प्रमुख नवराज गेलालले कुनै पनि कामको इतिहास चाहिएको नभई विकास निर्माणमा नतिजा आवश्यक रहेको औंल्याउनुभयो । उहाँले शैलुङ कन्टक्सनले समयमा काम नगरेको मात्र नभई गुणस्तरियता समेत नभएको बताउनुभयो । उहाँले निकाशा भएको रकम उक्त सडकमा प्रयोग नगरि निर्माण कम्पनीले अन्यत्र नै प्रयोग गरेकोले निर्धारित समयमा निर्माण सम्पन्न नभएको समेत बताउनुभयो ।

चाँगुनगरपालिकाका प्रमुख मिश्रले भक्तपुर नगरकोट सडक खण्ड निमार्ण कार्यमा ढिलाई हुदाँ संसदीय समितिसम्म उजुरीदिन बाध्य भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘संसदीय समिति भन्दा ठूलो निकाय अरु नभएकाले अब काम सम्पन्न हुनेमा विश्वस्त छु ।’समितिका सभापति कल्याणी खड्काको नेतृत्वको समितीका सदस्यहरु, भक्तपुरका सांसद, स्थानिय जनप्रतिनिधि, सरकारी निकाय, स्थानीय बासिन्दाले सडकको स्थलगत अनुगमन गरेको हो । टोलिले गरे काम सम्भव हुन्छ भन्ने प्रमाणित भएको बताउँदै समितिले अनुगमन गर्ने भएपछि रातारात सडकको खाल्डाखुल्डी पुर्न सक्नेले ६ वर्षसम्म किने निर्माण सम्पन्न गर्न सकेन भनी निर्माण कम्पनीलाई जवाफ माग गरेको थियो ।