जनता टाइम्स

३१ भाद्र २०७९, शुक्रबार ०८:०९

सोलुखुम्बुका २२ जनाले त्यागे नेपाली नागरिकता


सोलुखुम्बु, भदौ ३१ । बिगत १२ वर्षमा सोलुखुम्बुका २२ जनाले नेपाली नागरिकता त्यागेका छन्। जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको तथ्यांक अनुसार २०६६ सालदेखि हालसम्म ११ महिला र ११ जना पुरुष गरी २२ जनाले नागरिकता त्यागेका हुन्।

२०६६ मा चार, २०६८ मा दुई, २०७१ मा एक, २०७२ मा तीन, २०७४ मा तीन, २०७५ मा दुई, २०७६ मा चार, २०७८ मा एक र २०७९ को हालसम्ममा दुईजनाले नेपाली नागरिकता त्यागेका कार्यालयले जनाएको छ।

रोजगारीका सिलसिलामा विदेश गएर उतैको नागरिक भएकाहरूले नेपालको नागरिकता परित्याग गरेको प्रमुख जिल्ला अधिकारी अनिल खनालले जानकारी दिनुभयो। जिल्लामा रहेको समयमा सिधै जिल्ला प्रशासन कार्यालयमा र विदेशमा रहेको समयमा दूतावासमार्फत नागरिकता परित्यागको गर्ने गरेका हुन्।

यसरी परित्याग गर्नेमा दूतावासबाट परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय हुँदै जिल्ला प्रशासन कार्यालयमा आउने बढी रहेको कार्यालयले जनाएको छ। सोही अवधीमा दुई पुरुषको नागरिकता रद्द गरिएको छ। नेपालकै नागरिकता दोहोरो लिएको पाइएमा त्यस्ता नागरिकता रद्द गर्ने गरिन्छ।