जनता टाइम्स

१ आश्विन २०७९, शनिबार १४:४३

धेरै तितो नबोलौं, यो सरकार कसरी बन्यो भनेर त छताछुल्लै भइसकेको छ : ओली


काठमाडौं, १ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सरकार भएको भए गत वैशाखमै निर्वाचन भइसकेको हुने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । बैठकमा उहाँले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार परमादेशबाटै बनेको पुनः दोहोर्याउनुभयो । यो सरकार संविधान विपरित रहेको र यो प्रतिगमन भएको पनि दावी गर्नुभयो ।

यद्यपि, यो सरकारले निर्वाचन तोकिसकेका कारण अब धेरै बहस गर्न जरुरी नभएको बताउनुभयो । उहाँले आफू सरकारमा रहिरहेको भए १७ र २७ वैशाखमै भइसकेको हुने बताउनुभयो । उहाँले यो सरकारले जेसुकै भने पनि संविधानको उल्लघंन गरेको घटना अहिले भइरहेका घटनाक्रम देखाएको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो,‘सरकार बनाएको परिवेश त छताछुल्ल भएकै छ । जे भए पनि अब हामी एउटा कोर्षमा गइसकेका छौं । निर्वाचनको मिति तोकिएको छ । यो प्रतिगमन होइन । तर, संविधानविपरित परमादेशबाट सरकार गठन हुनु चाही प्रतिगमन नै हो ।’

बैठकमा उहाँले यो सरकारले भष्ट्राचारको सन्दर्भमा ‘ …भन्दा देख्नेलाई लाज’ भने जस्तो गरिरहेको आरोप पनि लगाउनुभयो । उहाँले अब छुट्टिने बेलामा धेरै कठोर नबोलने पनि बताउनुभयो । उहाँले थप्नुभयो। ‘तितो नबोलौं तर प्रधानमन्त्रीलाई सही बाटो देखाउनै पर्छ ।’ सम्बोधनका क्रममा संसदको प्रारम्भमा निकै राम्रा काम भएको बताउनुभयो ।

प्रारम्भामा धेरै कानुन संसोधन गरेको, संघीयताका संरचना निर्माण गरेका, संघ, स्थानीय तह कसरी चलाउने भनेर संविधान अनुकुल कानुन र अन्य संरचना निर्माण गरेको बताउनुभयो । यस्तै, प्रदेशहरूको राजधानी तोक्ने, एउटा बाहेक बाँकीको नामाकरण लगायत काम निकै राम्रोसँग गरेको बताउनुभयो । साथै, भूकम्पपछिको पुनर्निर्माणमा पनि अत्यन्तै प्रभावकारी काम भएको बताउनुभयो ।