जनता टाइम्स

२ आश्विन २०७९, आईतवार १५:११

२२ घण्टापछि छ्यादी खोलाको भिरबाट शिक्षकको जीवितै उद्धार


सिन्धुपाल्चोक, असोज २ । हेलम्बु गाउँपालिका १ सर्कथली छ्यादी खोलाले बगाएर बेपत्ता भएका शिक्षकको २२ घण्टापछि आइतबार जीवितै उद्धार गरिएको छ ।

हेलम्बु नाकाते पारी भेग छ्यादी खोलामा साथीसहित नुहाउन गएका स्थानीय विद्यालयका शिक्षक केशव सिवाकोटीलाई खोलाले शनिबार दिउँसो बगरबाट बगाएको थियो । हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाका अनुसार दोलखा कालिञ्चोक ३ निवासी सिवाकोटी स्थानीय सर्कथली आधारभूत विद्यालयमा पढाउँदै आउनु भएको थियो ।

शनिबार एक्कासी खोलामा चिप्लिएर उहाँ खसेर हराएपछि प्रत्यक्षदर्शी शिक्षक र स्थानीयले आफूलाई खबर गरेको र आफूले सुरक्षाकर्मीलाई खबर गरेर खोजी कार्यमा लागेको बताउनु भयो ।शिक्षकको जीवन बँचाएको भन्दै स्थानीय गाउँलेले सुरक्षाकर्मी, शिक्षकलाई दोसल्ला ओडाएर सम्मान गरेका थिए ।

शनिबार बेपत्ता शिक्षक नभेटिएपछि आस मारेका स्थानीय र शिक्षकका परिवारले छ्यादी भिरबाट आइतबार बिहान ५ बजे ‘बचाउ‚ बचाउm गुहार, गुहार’ भन्ने आवाज बारम्बार सुनेपछि गाउँपालिका अध्यक्षलाई गुहारेका थिए । तत्कालै नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीसहित स्थानीय अगुवाजन र जनप्रतिनिधि उद्धारमा आवाज आएको छ्यादी भिरमा खटिएका थिए ।

उहाँलाई हेलिकोप्टरमार्फत उद्धार गरेर अहिले कठमाडौं लगिएको र अहिले अवस्था सामान्य रहेको छ । हाल उहाको काठमाडौँ मेडिकल कलेज सिनामंगलमा चेक उपचार भैरहेको छ ।