काठमाडौं, असोज ३ । नेकपा एमालेले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि समानुपातिक तर्फको बन्दसूची बुझाउन निर्वाचन आयोग पुगेको छ ।
समानुपातिकमा संघतर्फ ११० र प्रदेशतर्फ २२० जनाको सूची बोकेर एमाले निर्वाचन विभाग उपप्रमुख निरज आचार्यसहितको टोली आयोग पुग्नुभएको हो ।
आचार्यले आगामी निर्वाचन भयरहित र निष्पक्ष हुनुपर्ने बताउनु भयो। आयोगका अनुसार अहिलेसम्म ३५ बढीले दलले समानुपातिक तर्फको बन्दसूची बुझाइसकेका छन ।
एमालेले शीर्ष तहका नेताहरुले समानुपातिक निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय लिनुभएको छ । प्रत्यक्षतर्फ चुनाव नलडने घोषणा गर्नुभएका एमालेका चार जना शीर्ष नेताहरुले समानुपातिकमा समेत अरुलाई ठाउँ छाडनु भएको हो ।
नेताहरुकै चाहनाअनुसार एमालेले चार पदाधिकारीलाई समानुपातिक सुचीमा राखेको छैन । आइतबार हिजो बसेको सचिवालय बैठकमा नेताहरूको नाममा छलफल भएपनि उच्च तहका नेता कोही पनि नसमेटिएको एमाले स्रोतको दाबी छ । एक पदाधिकारीका अनुसार २०६४ साल यताका निर्वाचनमा समानुपातिकमा परेका कसैलाई पनि दोहोर्याएर समानुपातिक सूचीमा राखिएन ।
यसैगरी अघिल्लो कार्यकालमा स्थानीय तहका प्रमुख वा उपप्रमुख भइसकेका नेताहरुलाई पनि समानुपातिकको सूचीमा नराखेको एमालेले जनाएको छ । ‘यसपटक प्राय सबै नयाँ अनुहारलाई समेटिएको छ’, एमाले उपमहासचिव एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले भन्नुभयो, ‘एमालेले यसपाली संसद्मा पठाउने अधिकांश अनुहार नयाँ हुने भए ।’
समानुपातिकमा आ-आफ्नो क्लस्टरमा पहिलो नम्बर सूचीमा पर्ने भनेर चर्चा गरिएका उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, रामबहादुर थापा र उपमहासचिव विष्णु रिमाल समानुपातिक सूचीमा हुनुहुन्न । सचिवालयले २०६४ साल यताको निर्वाचनमा एक पटक समानुपातिकमा बसेका नेताहरुलाई नदोहोर्याउने नीति लिएपछि उहाँहरु उक्त सुचीमा अट्न नसकेको सचिवालयका एक नेताले बताउनभुभयो ।
यसैगरी समानुपातिक सुचीमा चर्चा गरिएका प्रदेश नं १ का इन्चार्ज देवराज घिमिरे पनि समानुपातिकमा पर्नु भएन । आज दिउसो निर्वाचन आयोगमा नाम बुझाउने एमालेको तयारी छ । असोज १६ गतेसम्म आयोगले बन्द सूचीको नाम हेरफेर गर्ने समय राखिदिएकोले केही नामहरू दुईहप्ताको समयमा फेरबदल भएपनि अधिकांश नाम सचिवालयको निर्णय बमोजिम नै हुने बताइएको छ ।













प्रतिक्रिया दिनुहोस्