जनता टाइम्स

३ आश्विन २०७९, सोमबार २३:३८

एमाले नेता आलमको हत्यारा प्यासीलाई देउवा सरकारले दियो आममाफी


काठमाडौं, असोज ३ । नेकपा एमालेका नेता एवं मुस्लिम ईत्तेहाद संगठनका तत्कालिन केन्द्रीय अध्यक्ष महमुद आलमको हत्या अभियोगमा जेल सजाय काटिरहेका रामचन्द्र कुशवाहा प्यासीले आममाफी पाएका छन ।

संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा शेरबहादुर देउवा नेतृत्वको सरकारले प्यासीलाई आममाफी दिएको हो । सरकारको सिफारिशमा राष्ट्रपतिबाट कैद सजाय मिनाहा भएपछि प्यासी जेलमुक्त भएका हुन् । प्यासी वीरगन्जस्थित कारागारमा आजिवन कारावासको कैद सजाय भुक्तान गर्दै आएका थिए ।

जेलमुक्त भएका प्यासीलाई सोमबार वीरगन्ज कारागारमा उनका परिवार र समर्थकले स्वागत गरेका छन् । आलमको हत्या उनकै योजनामा भएको पुष्टि भएपछि उच्च अदालत जनकपुरको अस्थायी ईजलास वीरगन्जले प्यासीलाई आजिवन कारावासको सजाय सुनाएको थियो ।

प्यासीसहित आलम हत्यामा संलग्न मोटरसाईकल चालक मनोज पाण्डेलाई पनि अदालतले आजिवन कारावासको फैसला सुनाएको थियो भने अन्य मतियार विपिन यादव, अतिक खान र राजु श्रीवास्तवलाई १० वर्षको सजाय तोकेको थियो ।

आलमको २०७० साल असोज १८ गते हत्या भएको थियो । चुनावी अभियानमा हिडिरहेका बेला आलमलाई मोटरसाईकलमा आएका ब्यक्तिले आलमलाई गोली प्रहार गरेका थिए । गोली प्रहारबाट घाईते आलमको असोज २४ गते उपचारका क्रममा मृत्यु भएको थियो ।

बारा क्षेत्र नं ४ बाट प्रतिनिधि सभाको लागि उम्मेदवारी दर्ता गराएको २४ घण्टा नवित्दै आलममाथी गोली प्रहार भएको थियो । उपचारका क्रममा आलमको निधन भएको थियो । आलमको निधन भएपछि एमालेले उनकी पत्नी नेजमा आलमलाई टिएको दिएको थियो र नेजमा उक्त निर्वाचनमा निर्वाचित हुनुभएको थियो ।

घटनाको मुख्य योजनाकार थिए प्यासी

नेकपा एमालेका तत्कालिन सभासद समेत रहेका रामचन्द्र प्यासी घटनाको मुख्य योजनाकार थिए । पार्टीले आफूलाई टिकट नदिएर आलमलाई दिएपछि उनले हत्या गरेर टिकट उम्काउने योजना बनाए । तर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले प्यासीलाई २०७० कार्तिक ९ सिमराबाट पक्राउ गरेको हो ।

आलमको हत्यामा प्यासीको संलग्न रहेको आधार देखिएपछि प्रहरीले प्यासीलाई पक्राउ गरेको थियो । आलम हत्या आरोपमा पक्राउ परी पूर्पक्षका लागि जेलमा रहेका प्यासीलाई जिल्ला अदालत बाराले २०७३ बैशाख १५ गते १० वर्षको कैद सजाय सुनाएको थियो ।

उक्त कैद फैसलाविरुद्ध आलम पत्नी नेजमाले २०७३ कार्तिक ३ गते उच्च अदालतमा रिट दायर गरेकी थिईन् । उक्त रिटमाथी फैसला गर्दै उच्च अदालतले आजिवन कारावासको सजाय सुनाएको थियो ।