जनता टाइम्स

६ आश्विन २०७९, बिहीबार १४:०१

अहंकारी गठबन्धनले संविधानको धारा १८१ सयौं पटक उल्लंघन गर्यो : अध्यक्ष ओली


काठमाडौं, ६ असोज । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले यो गठबन्धनले मसलको धाक लगाएर संविधानको धारा १८१ सयौं पटक उल्लंघन गरेको आरोप लगाउनु भएको छ । ‘कुनै पनि विधेयक संसदमा लैजानुपूर्व राष्ट्रपतिलाई जानकारी गराउनु पर्ने, परामर्श गर्नु पर्ने संवैधानिक व्यवस्था छ, तर यो गठबन्धनले कहिल्यै त्यसो गरेन’ उहाँले भन्नुभयो ।

‘मैले संसदको एकवर्ष अगाडि नै उभिएर भनेको थिएँ संविधानको धारा १८१ तर्फ सरकारको ध्यान जाओस, संविधानको पालना सरकारले गरोस्’, उहाँले भन्नुभयो, ‘संविधान विधेयकहरू संसदमा पेस गर्नुपूर्व राष्ट्रपतिसँग सल्लाह गर्नुपर्छ, राष्ट्रपतिसँग स्वीकृति लिनुपर्छ, राष्ट्रपतिलाई ब्रिफिङ गरेको हुनुपर्छ भन्छ । यो अहंकारी गठबन्धनले संविधानको धारा १८१ एकपल्ट पनि पालना गरेन ।’

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक पुनर्विचार गर्न पठाउँदा गठबन्धनले मसलको भाषा बोलेको उहाँले बताउनुभयो । ‘राष्ट्रपतिले पुनर्विचार गर्ने कि भन्नु भो । नगर्ने ?’, उहाँले भन्नुभयो ।

संविधानको व्यवस्थाअनुसार राष्ट्रपतिको रायबारे छलफल नै नगरेको अध्यक्ष ओलीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘बाहिरबाहिर बसेर अनाडि मान्छे भेला भएर, अनाडि मान्छे बसेर, संविधानले नचिनेका व्यक्ति बसेर राष्ट्रपतिको मजाक उडाउने काम भएको छ ।’ जसमा असभ्यता, कुसंस्कार, अलोकतान्त्रिक अभ्यास भएको उहाँले बताउनुभयो ।