जनता टाइम्स

६ आश्विन २०७९, बिहीबार २१:०२

सुरक्षा निकायका प्रमुखबीच छलफल


काठमाडौं, ६ असोज । सुरक्षा निकायका प्रमुखहरुबीच निर्वाचन सुरक्षाबारे छलफल भएको छ । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षाबारे प्रधानसेनापति प्रभुराम शर्मा र ३ सुरक्षा निकाय नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसँग छलफल गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

आज जङ्गी अड्डामा भएको छलफलमा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह, सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा हुनुहुन्थ्यो ।

सुरक्षा निकायका प्रमुखहरुको बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्थाको बारेमा छलफल भएको हो । निर्वाचन सुरक्षामा आवश्यक समन्वय गरेर अघि बढ्नेबारे छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।