जनता टाइम्स

७ आश्विन २०७९, शुक्रबार १४:०४

प्रधानमन्त्रीसहित प्रमुख राजनीतिक दलका नेताहरुलाई आचारसंहितामा हस्ताक्षर गर्न आयोगले बोलाउने


काठमाडौं, ७ असोज । प्रधानमन्त्री शेरबहादुर देउवासहित प्रमुख राजनीतिक दलका नेताहरुलाई निर्वाचन आयोगले आइतबार कार्यालयमा बोलाउने तयारी गरेको छ । आयोग मंसिरमा हुने चुनावका लागि निर्वाचन आचारसंहिता चाँडै पूर्ण कार्यान्वयनमा जाने भएको हो ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम पौडेलले निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित भएको तर त्यो लागु हुन आयोगले निर्णय गर्नुपर्ने बताउनुभयो । निर्वाचन आचारसंहिता लागु गर्नेबारे छलफल र प्रतिवद्धता जनाउन प्रधानमन्त्री र गृहमन्त्रीसँग आयोगले छलफल गर्दैछ । आइतबार प्रधानमन्त्रीसहित अन्य दलका नेताहरुलाई पनि बोलाएर प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेर आचारसंहिता लागु भएको घोषणा गरिनेछ । निर्वाचनको मतदान गर्ने मिति अव ५८ दिन बाँकी छ ।

उहाँले भन्नुभयो,‘आयोगले अहिलेसम्म आचारसंहिता लागु हुने मिति घोषणा गरिसकेको छैन ।’ विगतमा निर्वाचन आचारसंहिता लागु हुनेबारे एकरुपता भएको पाइँदैन । ‘विगतमा कहिले एक महिनाअघि, कहिले दुई महिना अघि र कहिले निर्वाचन घोषणा भएकै मितिदेखि पनि लागु भएको उदाहरण छ’, प्रवक्ता पौडेलले भन्नुभयो ।