जनता टाइम्स

७ आश्विन २०७९, शुक्रबार १९:२५

एमालेको लहर देखेर गठबन्धनको धनु कामेको छ : अध्यक्ष ओली


काठमाडौं, ७ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको लहर देखेर गठबन्धनको धनु कामेको बताउनुभएको छ । उहाँले आफ्नो पार्टीसँग एक्लै भिड्न नसक्ने भएपछि सत्तारुढ दलहरु गठबन्धन बनाएर निर्वाचनमा जान बाध्य भएको बताउनुभएको छ । अध्यक्ष ओलीले सत्तारुढ दलहरुलाई आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीले त्रिशुलीको भेलले बगाए जसरी बगाउने निश्चित भएपछि उनीहरुले गठबन्धनको त्यान्द्रो समाउनु परेको बताउनुभयो ।

राजधानीमा आयोजित राष्ट्रिय युवा संघ, नेपालको प्रचार भेलालाई सम्बोधन गर्दै उहाँले अनेकथरी प्रतिक्रियावादी शक्तिहरु मिल्दा पनि एमालेलाई कमजोर बनाउन नसकेको दाबी गर्नुभयो । अध्यक्ष ओलीले एमालेको लहर देखेर सत्तारुढ गठबन्धन थरर काम्ने गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अनेकथरी प्रतिक्रियावादी शक्तिहरु मिल्दा पनि प्रमुख पार्टीबाट कमजोर पार्न सकेका छैनन् । अहिले त गठबन्धन बनाएर मात्रै हामीसँग मुकाविला गर्ने कुरा त्यही पनि उनीहरुको धनु कामेको छ एमाले देखेपछि। गर्मीमा पनि उनीहरु धेरै जाडोमा मानिसहरु काम्छ नि थरर त्यसरी कामेका छन्।’

उहाँले नेपाली पुगेको हरेक ठाउँमा एमाले पुगेको र त्यसले मात्रै मुलुकको समृद्धि र विकासको अभियानलाई अगाडि बढाउन सक्ने बताउनुभयो । उहाँले थप्नुभयो,‘यसमा जहाँ नेपाली, त्यहाँ एमाले । देश भित्र मात्रै होइन, देश बाहिर पनि जहाँजहाँ नेपाली पुगेका छन्। त्यहाँ एमाले पुगेको छ। त्यसकारण जहाँ नेपाली, त्यहाँ एमाले।’