जनता टाइम्स

७ आश्विन २०७९, शुक्रबार २०:४९

निर्वाचन केपी ओली वा शेरबहादुरमध्ये कसको नेतृत्व रोज्ने भन्ने जनमत संग्रह : शंकर पोखरेल


काठमाडौं, असोज ७ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी मंसिर ४ गते हुने आम निर्वाचन केपी ओली वा शेरबहादुर देउवामध्ये कसको नेतृत्व रोज्ने भन्ने जनमत संग्रह भएको बताउनु भएको छ ।

एमाले निकट युवासंघले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले गठबन्धन दलसँग भविष्यमा कसले नेतृत्व गर्ने भन्ने खाका नै नभएको बताउनु भयो ।उहाँले एमालेले अध्यक्ष ओलीलाई सर्वसम्मत प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सारेको बताउनु भयो ।

‘गठबन्धनको कुनै लक्ष्य छैन। कुनै उद्देश्य छैन। कसले नेतृत्व गर्ने भन्ने योजना छैन तर, एमालेसँग स्पष्ट नीति छ, स्पष्ट उद्देश्य र नेतृत्व छ। अध्यक्ष कमरेड केपी ओलीलाई भावि प्रधानमन्त्रीको रुपमा अघि सार्दा कुनै विमती छैन,’ महासचिव पोखरेलले भन्नुभयो ।

महासचिव पोखरेलले ओलीले नेपालको जमिनमा मात्रै नभइ आकाशमा समेत सार्वभौमिकताको वकालत गरेको बताउनु भयो । पोखरेलले भूपरिवेष्ठित देशका लागि समुन्द्रमा अधिकार हुनुपर्छ भन्ने कुरा पनि पहिलोचोटी ओलीले नै स्थापित गरेको तथ्यसमेत राख्नुभयो ।