जनता टाइम्स

८ आश्विन २०७९, शनिबार १६:३९

कांग्रेसमा शेखर समुहको बिद्रोह : देउवालाई सुनाए यति कडा बटमलाइन


काठमाडौं, असोज ८ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षधरले समानुपातिकतर्फको बन्दसूची नसच्याए र प्रतिनिधिसभाको टिकट वितरणमा अन्याय कायमै रहे विद्रोह गर्ने घोषणा गरेको छ ।

काठमाडौंमा आज खबरदारी सभा गर्दै कोइराला पक्षधर नेताहरुले सभापति शेरबहादुर देउवालाई यस्तो चेतावनी दिनुभएको हो । ‘हामी पार्टीलाई सही ढंगले अघि बढाउनु पर्छ भन्नेमा प्रष्ट छौं तर समानुपातिकको सूची सच्चिएन, टिकट बितरण न्यायोचित भएन र सभापति सच्चिनुभएन भने बिद्रोह हुन्छ,’ कोइराला समुहको चेतावनी छ ।

कार्यक्रममा बोल्दै नेता गुरूराज घिमिरेले पार्टीभित्रको अन्याय सच्याउनका निम्ति विनम्रपुर्वक गरिएको खबरदारीको सुनुवाइ नभए विद्रोह हुने घोषणा गर्नुभयो । ‘नेपाली कांग्रेसभित्र अहिले समान्तवाद मौलाएको छ । एकलौटी रूपमा टिकट दिएर सबैलाई जिताउने तागत छ भने दिए हुन्छ । होइन भने सबैलाई न्याय गर्नुस। हामी विनम्रतापुर्वक आग्रह गरिरहेका छौँ । सुनुवाई नभए विद्रोह गर्छौं,’ घिमिरेले भन्नुभयो ।

अर्का नेता जगदिश्वरनरसिंह केसीले गठबन्धनका पाँच दल मिलाउन निरन्तर छलफल गर्नसक्ने सभापति देउवाले पार्टीलाई एकतावद्ध बनाउन १८ मिनेटपनि छलफल नगरेको भन्दै कडा आक्रोश पोख्नुभयो । सभापतिमा निर्वाचित भएपछि गुटको नभएर सबैको नेता हुने बताए पनि देउवा त्यसभन्दा माथि उठ्न नसकेको र गुटबन्दीलाई नै प्राथमिकतामा राखेको यहाँको भनाई थियो ।

‘गठबन्धनका नेता रिझाउन १८ घण्टासम्म छलफल गर्ने हाम्रा सभापतिले हामीलाई १८ मिनेट पनि समय दिनुभएको छैन । उहाँले गुटभन्दा माथि उठ्न सक्नुभएन । समानुपातिकको सूची नसच्चिए हामी विद्रोह गर्छौं’, केसीले भन्नुभयो । यस्तै नेता अजय द्विवेदीले पार्टीले सभापतिले बहुमतको बलमा अन्याय गरे प्रतिवाद गर्ने बताउनु भयो । ‘जहाँ अन्याय हुन्छ त्यहाँ विद्रोह हुन्छ । विभेद र अन्याय स्वीकार्य छैन,’ द्विवेदीले भन्नुभयो ।