जनता टाइम्स

८ आश्विन २०७९, शनिबार १८:०४

गठबन्धन सरकारका कारण आर्थिक अवस्था धरासायी भयो : शंकर पोखरेल


काठमाडौं, असोज ८ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धन सरकारका कारण मुलुकको आर्थिक अवस्था अस्तव्यस्त भएको तथ्य राख्नुभएको छ ।

एमाले केन्द्रीय अर्थ तथा योजना विभागको आज बुलेटिन सार्वजनिक गर्दै महासचिव पोखरेलले गठबन्धनका नेताहरूको ध्यान आर्थिक लाभ लिनेतर्फ मात्रै केन्द्रित भएकाले मुलुकको आर्थिक अवस्थामा अस्तव्यस्त भएको बताउनु भयो ।

महासचिव पोखरेलले मुलुकको बिग्रिएको आर्थिक अवस्थालाई सही दिशामा ल्याउने काम एमालेले मात्रै गर्ने बताउनु भयो । नेतृत्वको प्रश्न सुल्झाउने चुनाव भएकाले हरेक निर्वाचन व्यक्तिको जित हारको मात्रै विषय नभएको पनि उहाँको भनाई थियो । अब मुलुकलाई रूपान्तरण गर्ने प्रश्नमा सहमति हुनेहरू एक ठाउँ उभिन जरुरी रहेको भन्दै उहाँले नीतिको प्रश्न छाडेर गरिने गठबन्धनले राष्ट्रलाई अघि बढाउन नसक्ने बताउनु भयो।

पोखरेलले एमालेले केपी ओलीको नेतृत्वमा चूनावमा जाने घोषणा गरेपनि गठबन्धनको भने कुनै नेतृत्व नै नभएको टिप्पणी गर्नुभयो । पोखरेलले मुलुकको उचित विकासको मोडललाई अवलम्वन गर्नुपर्ने धारणा समेत राख्नुभएको छ ।