जनता टाइम्स

९ आश्विन २०७९, आईतवार १३:१७

यसकारण एमाले बने उमाशंकर अगरिया


काठमाडौं, असोज ९ । तराई मधेशका चर्चित नेता उमाशंकर अरगरियाले केपी ओलीको नेतृत्वमा मात्र देशको विकास सम्भव रहेको आफ्नो निश्कर्ष सुनाउनु भएको छ ।

नेकपा एमालेका अध्यक्ष ओलीको हातबाट टिका र खादा लगाएर शनिवार मात्र एमाले प्रवेश गर्नुभएका अगरियाले ओलीको भिजन र कार्यशैली मन परेका कारण नै आफू नेकपा एमालेमा प्रवेश गरेको बताउनु भयो । तराईमा १६ बर्षमा २४ पटक मधेसी दल फुटेको र हरेक नेता आफू र आफ्ना सन्तानका लागि मरिहत्ते गर्ने गरेको तर एमाले अध्यक्ष ओलीले देश हेरेको निश्कर्ष पनि उहाँको छ ।

एमाले अध्यक्ष ओलीले सरकारको नेतृत्व गर्दा मधेशको विकास,समग्र देशको विकास,हुलाकी राजमार्ग,जनकपुर–जयनगर रेल बनाउने लगायत थुप्रै काम गर्नुभएको अगरियाले बताउनु भयो । देशको विकास केपी ओलीको नेतृत्वमा मात्र सम्भव भएको निश्कर्षमा आफूसहित मधेसका अधिकांश जनता पुगेको उहाँको भनाई छ ।

केपी ओली समग्र देश र मधेशका लागि चाहिने नेता भएको भन्दै अगरियाले मधेशले मात्र नभएर सिंगो देशले फेरि पनि केपी ओलीको नेतृत्व खोजिरहेको बताउनुभयो । ‘केपी ओली जस्तो इमान्दार र सत्य बोल्ने नेता देशलाई फेरि चाहिएको छ,’ अरगरियाले भन्नुभयो । आफ्नो सम्पत्ति राष्ट्रको नाममा गर्ने नेता पनि अध्यक्ष ओली मात्रै भएको उहाँको भनाइ छ ।

लोसपा छाडेर एमाले प्रवेश गर्नुभएका अरगरियाले मधेशलाई एमालेमय बनाएरै छाड्ने अठोट पनि गर्नुभएको छ । विगतमा एमालेमुक्त भ्रममा रहेको भन्दै उहाँले स्रो भ्रम तोडेर एमालेसँग जोडिएको बताउनुभयो ।

नागरिकतासम्बन्धी अध्यादेश ल्याएर नागरिकता समस्या समाधान गर्न खोज्दा एमालेलाई रोकिएको भन्दै उहाँले एमालेले चुनाव जितेपछि सो समस्या तत्काल समाधान गरिने बताउनुभयो ।