काठमाडौं, असोज १० । सत्तारूढ पाँच दलीय गठबन्धनभित्र सिट बाँडफाँटको विषय लिएर तीव्र असन्तुष्टि बढेको छ । गठबन्धनभित्र सिट बाँडफाँटको सकस परिरहेकै बेला गठबन्धनमा रहेका राजनीतिक दलमा आन्तरिक कलह बढ्दै गएको छ ।
नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र, नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी र जनता समाजवादी पार्टी नेपाल (जसपा) भित्र सिटबाँडफाँटको विषयलाई लिएर आन्तरिक कलह बढ्न थालेको हो ।
आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन ४ मंसिरमा हुँदै छ । समानुपातिक तर्फको बन्द सूची निर्वाचन आयोगमा राजनीतिक दलले बुझाइसकेका छन् । तर, गठबन्धनभित्र रहेका दलबीच प्रत्यक्षतर्फको सिट बाँडफाँटको टुंगो अझै लाग्न सकेको छैन । गठबन्धनभित्रै सिट बाँडफाँटको टुंगो नलाग्दै प्रमुख चार दलभित्र आन्तरिक झगडा बढ्दै गएको हो ।
कांग्रेस नेता शेखर कोइराला समूहले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई न्यायोचित सिट बाँडफाँट गर्नुपर्ने र पार्टीभित्र आफ्नो समूहलाई टिकट वितरणमा भेदभाव गरेमा विद्रोह गर्ने चेतावनी दिएको छ ।
कांग्रेसले सय सिट पाउनैपर्ने र पार्टीभित्र सो सिटको बाँडफाँट न्योचित रूपमा हुनुपर्ने अडान कोइराला समूहको छ । शुक्रबार अनौपचारिक बैठक गरेका शेखर समूहका दोस्रो तहका नेताले शनिबार खबरदारी सभा गरेर सिट बाँडफाँट’ पार्टी नेतृत्वलाई चेतावनी मात्रै दिएनन्, न्यायोचित ढंगले टिकट वितरण नभए विद्रोह गर्ने खुला चुनौती पनि देउवालाई दिएका छन् ।
गत महिना शेखरले विपक्षी एमाले अध्यक्ष केपी शर्मा ओलीसँग उनको निवास बालकोट पुगेरै छलफल गरेका थिए । शेखरले पार्टीभित्र देउवाले आफ्नो समूहलाई पेल्न खोजेको गुनासो मात्र गरेनन् । आगामी निर्वाचनमा पार्टीबाटै विद्रोह हुने र एकले अर्कालाई सहयोग गरेर अगाडि बढ्नुपर्ने विषयमा समेत गम्भीर छलफल गरेका थिए ।
आउँदो निर्वाचनमा गठबन्धन दलबीच तालमेल गरेर अघि बढ्ने निष्कर्ष निकालेसँगै कांग्रेसभित्र शेखर समूह संशकित देखिएको थियो । संस्थापन र कोइराला समूहले निर्वाचन आयोगमा समेत समानुपातिक तर्फको बन्दसूची बुझाउँदा छुट्टाछुट्टै बुझाएका छन् ।
कोइराला समूहले पटकपटक आफ्नो समूहको बैठक गरेर देउवालाई घच्घच्याउँदै उनीहरूले पार्टीले लिने सिट र सभापतिले बाँड्ने टिकट’मा बारम्बार प्रश्न उठाउँदै आएका छन् । कांग्रेसभित्रको आन्तरिक कलहकै कारण शनिबार बोलाइएको गठबन्धनको बैठकसमेत अवरुद्ध बन्यो ।
उता देउवाले पार्टीभित्र विद्रोहको अवस्था रहेको भन्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेतालाई आफ्नो बाध्यता बुझिदिन बारम्बार आग्रह गरिरहनु भएको छ ।
माओवादीमा सामूहिक राजीनामा
गठबन्धनभित्र रहेको माओवादी केन्द्रमा समेत टिकट वितरणको विषयलाई लिएर विवाद भएको छ । गठबन्धनभित्र रहेको माओवादीले सहमतिमै केही जिल्लामा सिट छोड्ने संकेत पाएपछि जिल्लाजिल्लामा विवाद मात्र होइन नेताहरूले सामूहिक राजीनामा समेत दिएका छन् ।
माओवादी केन्द्र धनकुटाका नेताहरूले सामूहिक राजीनामा दिएका छन् । आइतबार एक विज्ञप्ति जारी गर्दै धनकुटाका माओवादी नेताहरूले सामूहिक राजीनामा दिएको घोषणा गरेका हुन् ।
राजीनामा दिनेमा धनकुटाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय नेतासहित जिल्ला समन्वय समितिका सम्पूर्ण पदाधिकारी रहेका छन् । शनिबार बसेको जिल्ला समन्वय समितिको बैठकले सामूहिक राजीनामा दिने निर्णय गरेको थियो ।
सामूहिक राजीनामासँगै हेमराज भण्डारीको नेतृत्वमा स्वतन्त्र अभियानलाई अगाडि बढाउने निर्णय गरिएको जिल्ला समन्वय समितिका निवर्तमान संयोजक डिल्लीराम राईद्वारा हस्ताक्षरित सामूहिक राजीनामा पत्रमा उल्लेख गरिएको छ । कांग्रेसलाई प्रतिनिधिसभाको सिट दिने गठबन्धनमा सहमति भएको सूचना पाएपछि जिल्लाका नेता कार्यकर्ताले सामूहिक राजीनामा दिएका हुन् ।
माओवादीभित्र युवापुस्तालाई उम्मेदवार बनाउनुपर्ने दबाबसमेत रहेको छ । अध्यक्ष प्रचण्डलाई भेटेर युवा नेताहरूले युवापुस्ताका उम्मेदवार बनाउनुपर्ने दबाब दिँदै आएका छन् । सातै प्रदेशका विभिन्न निर्वाचन क्षेत्रमा माओवादीभित्र समेत टिकटको विषयलाई लिएर विवाद भइरहेको छ ।
गठबन्धनभित्र रहेको एकीकृत समाजवादीमा समेत असन्तुष्टि बढ्दै गएको छ । गठबन्धनभित्र भइरहेको छलफल र पार्टी नेतृत्वप्रति नै नेताहरूले असन्तुष्टि व्यक्त गरेका छन् ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालपछिको मर्यादा क्रममा रहेका नेता मुकुन्द न्यौपानेले पार्टी विधि, पद्धति, सिन्द्धान्तअनुसार नचलेको बताउनु भयो । एमाले फुटाएर गठन भएको एकीकृत समाजवादीमा पार्टी नेतृत्वप्रति प्रश्न उठेको छ । न्यौपानेले पार्टी विभाजनको औचित्य’ समेत नेतृत्वसँग प्रश्न उठाउनु भएको छ ।
गठबन्धनभित्र सिट बाँडफाँटदेखि पार्टी सञ्चालनलगायतका विषयमा प्रश्न उठाउँदै न्यौपानेले पार्टी सही दिशामा अगाडि नबढेको बताउनु भएको छ । उहाँले एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध विद्रोह गरेर बनाइएको नयाँ पार्टी झनै लथालिंग भएको बताउनु भयो ।
गठबन्धनमा हुने छलफल’ पार्टीभित्र छलफल नभएको बताउँदै उनले पार्टीले पाउने सिट र वितरणको मापदण्डलगायत’ नेतृत्वसँग तिखो प्रश्न गरेका छन् । अध्यक्ष नेपाल, सम्मानित नेता खनाल, उपाध्यक्ष प्रमेश हमाल, महासचिव डा. बेदुराम भुसालले गठबन्धनभित्र छलफल गर्ने गरेको बताउँदै उहाँले नेतृत्वप्रति असन्तुष्टि जनाउनु भएको हो ।
यता जसपाले सिट बाँडफाँट न्यायोचित नभए गठबन्धन छोड्ने चेतावनी दिएका छन् । मधेसका जिल्लामा आफ्नो पार्टीले यसअघि विजयी भएको क्षेत्रसहित पहाडका जिल्लामा समेत आफ्नो पार्टीले सिट पाउनुपर्ने अडान जसपा अध्यक्ष उपेन्द्र यादवको छ ।













प्रतिक्रिया दिनुहोस्