जनता टाइम्स

११ आश्विन २०७९, मंगलवार ११:१०

बन्दसूचीको एक नम्बरमा पर्न राप्रपामा राणा र लोहनीबीच गोप्य मतदान, यस्तो आयो नतिजा


काठमाडौं, असोज ११ । राष्ट्रिय प्रजातन्त्र पार्टीको इतिहासमै आज एउटा रोचक अभ्यास भएको छ । पार्टीका दुई वरिष्ठ नेता पशुपति शमशेर जवरा र डा. प्रकाशचन्द्र लोहनीबीचको ‘रोलक्रम विवाद’ लाई कार्यसम्पादन समितिको बैठकले गोप्य मतदानबाट टुंगो लगाएको हो ।

राप्रपाका दुई पूर्वअध्यक्षहरु जवरा र लोहनीले समानुपातिकतर्फको पहिलो नम्बरमै रहने अडान राखेपछि अध्यक्ष राजेन्द्र लिङदेनले मतदान गरी टुंगो लगाउनु भएको हो । उहाँहरु दुवैको नाम पार्टीले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्द सूचीमा समावेश छ । तर, बन्दसूचीमा अन्तिम संशोधन गर्दा दुईमध्ये कसको नाम अगाडि राख्ने भन्नेमा जुंगाको लडाईं चलिरहेको थियो ।

सो बिवाद सल्टाउन सोमवार बसेको कार्यसम्पादन समितिको वैठकले मतदानबाट निर्णय लिएको हो । निर्वाचन समेत बनाएर गोप्य मतदान गराइएको थियो । राप्रपाको कार्यसम्पादन समितिमा २१ जना सदस्यलाई मताधिकार रहेको छ । उनीहरुमध्ये अध्यक्ष लिङदेन आफैं निर्वाचन समितिमा बसेर मतदानमा सहभागी हुनुभएन ।

अर्का एकजना आमन्त्रित सदस्य मात्र भएकाले मत हाल्न पाएनन् । बाँकी २० जनाले मतदान गर्दा राणालाई ११ र लोहनीलाई ९ भोट प्राप्त भएको हो ।