जनता टाइम्स

१५ श्रावण २०७६, बुधबार ११:११

बिकाशको रफ्तार बढाउन मन्त्री-सचिवका वार्षिक कार्ययोजना बुझ्दै प्रधानमन्त्री ओली


काठमाडौं, साउन १५

यो आर्थिक वर्षलाई सुखी नेपाली र समृद्ध नेपालको दिशातर्फ अगाडी बढाउने लक्ष्य राखेको सरकारले जनपक्षिय कामलाई तिव्रता दिने तयारी गरेको छ । अघिल्लो आर्थिक वर्षलाई आधार वर्ष भनेको सरकारले यो वर्षलाई कामको शुरुवात गर्ने वर्षका रुपमा लिएको छ ।

यसै सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीलाई वार्षिक कार्ययोजना लिएर आउन भन्नुभएको छ । बुधबार बिहान १० बजेदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मन्त्रीहरूले प्रधानमन्त्रीसमक्ष मन्त्रालयगत वार्षिक कार्ययोजना पेस गरिरहनु भएको छ । सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेटका आधारमा २४ वटै मन्त्रालयले आर्थिक वर्ष २०७६\०७७ का लागि कार्ययोजना तयार गरेका छन्।

सरकारको काममा सुस्तता आएको जनगुनासो बढेको भन्दै असार अन्तिम साता भएको मन्त्रालयहरूको समीक्षा बैठक बसेको थियो। उक्त बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले कामको रफ्तार बढाउन मन्त्रीहरूलाई निर्देशन दिनुभएको थियो । सोही बैठकमा उहाले आगामी वर्षको कार्ययोजना बनाएर ल्याउन पनि निर्देशन दिनु भएको थियो । प्रधानमन्त्रीको निर्देशनकै आाधार आफ्नो मन्त्रालयको बजेट सिलिङभित्र रहेर योजना तयार पारेका छन्।

ती कार्ययोजना आज प्रस्तुत हुने र कामको प्रगति विवरण पनि मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई बुझाउनु पर्नेछ।मन्त्रालयहरूले प्राथमिकता निर्धारण गरेर तयार पारेको कार्ययोजना प्रधानमन्त्री समक्ष प्रस्तुत गर्ने यो पहिलो अभ्यास हो। प्रधानमन्त्रीले काममा परिणाम खोजेपछि यो अभ्यास गरिएको हो । मन्त्रीसँगै सम्वन्धित मन्त्रालयका सचिव पनि बैठकमा सहभागी रहेका छन् ।