जनता टाइम्स

१५ श्रावण २०७६, बुधबार ११:४४

वडा कार्यालय भवन निर्माण, ८० लाखका दरले खर्च


कञ्चनपुर, साउन १५

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा तीन वडा कार्यालय भवन निर्माण गरिएका छन् । भवन निर्माणका लागि प्रतिभवन रु ८० लाख खर्च गरिएको छ । वडा नं ७, ८ र १२ मा वडा कार्यालयका पक्की सुविधासम्पन्न भवन निर्माणको कार्य पूरा भई कार्यालय सञ्चालन भइरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विसनसिंह थापाले बताउनुभयो ।

निर्माण भएका भवनमा बैठक कक्ष, तीन कार्यालय कक्ष, शौचालय र ‘वासरुम’सहितको व्यवस्था गरिएको छ । वडा नं १, ५ र ११ का कार्यालय भवन निर्माणाधीन अवस्थामा छन् । निर्माणाधीन भवनसमेत रु ८० लाखका दरले निर्माण भइरहेको अधिकृत थापाले बताउनुभयो । चालू आवमा दुई वडा कार्यालयका भवन निर्माणका लागि रु एक करोड ६० लाख रकम नगरपालिकाको नगर परिषद्ले स्वीकृत गरेको छ ।

सर्वसाधारणलाई घरदैलोमै सेवा पुर्याउन वडा कार्यालय भवन निर्माण गरिएको अधिकृत थापाको भनाइ छ । भवन निर्माण नभएका वडा नं २, ३, ६ र ९ का कार्यालय भाडाको घरमा सञ्चालन हुँदै आएका छन् । वडा नं ४ र १० का कार्यालय नगरपालिकाका पुराना भवनमा सञ्चालन भइरहेका छन् ।