जनता टाइम्स

१३ आश्विन २०७९, बिहीबार १५:०८

भीम रावलको जवाफ : पार्टीकै काममा छु, सम्पर्कविहीन भएँ भन्नु हास्यास्पद


काठमाडौं, असोज १३ । नेकपा एमालेका नेता भीम रावलले आफू पार्टीको सम्पर्कमै रहेको भन्दै भ्रम नछर्न सुदुरपश्चिमका नेताहरुलाई सुझाउनु भएको छ ।

चुनावी अभियानमा आफ्नो गृहजिल्ला अछाममै रहनुभएका रावललाई सुदुरपश्चिमका केही एमाले नेताहरुले पार्टी सम्पर्कमा नरहेको भन्दै सार्वजनिक अभिब्यक्ति दिएपछि रावलले आज जवाफ आफू पार्टीकै कार्यक्रममा रहेको प्रष्ट पार्नुभएको हो ।

आफू अछाम प्रतिनिधिसभा क्षेत्र नम्बर १ कमिटीले आयोजना गरेको कार्यकर्ता भेलामा सहभागीसमेत भएको रावलले बताउनु भएको छ । आफूले जिल्ला इन्चार्ज र अध्यक्षलाई जानकारी गराएर अभियानमा रहेको भन्दै रावलले भ्रम नछर्न सुझाउनु भएको हो ।

एमाले नेता रावलले लेख्नुभएको छ, ’म ’पार्टीको सम्पर्कमा नरहेको’ भन्ने के हो भनी धेरै पत्रकारले प्रश्न गर्नुभयो । म अछाम प्रतिनिधिसभा क्षेत्र नं.१ ले आयोजना गरेको कार्यकर्ता भेलामा प्रमुख वक्ताको रूपमा सहभागी भएँ। योबारे जिल्ला इञ्चार्ज र अध्यक्षलाई जानकारी गराएको थिएँ। म सम्पर्कविहीन भन्नु हास्यास्पद ।’

रावल अछाम क्षेत्र नम्बर १ का लागि एमालेबाट एकल उम्मेदवारका रूपमा सिफारिस हुनुभएको छ ।