जनता टाइम्स

१३ आश्विन २०७९, बिहीबार १९:१६

ढुङ्गाजस्तो शरीर, गुच्चा जस्तो आँखा : समुद्रमा भेटियो दुर्लभ प्रजातिको डरलाग्दो ‘शार्क’


एजेन्सी, १३ असोज । अष्ट्रेलियाको न्यु साउथ वेल्सको तटभन्दा टाढा समुद्रमा एउटा भयानक जीव भेटिएको छ । हेर्दा शार्क जस्तै देखिएपनि यो कुन प्रजातिको जीव हो भन्ने केही निश्चित भइसकेको छैन । वैज्ञानिकले समेत यसअघि यस्तो कुनै जीव नदेखेको बताएका छन् । उक्त जीवको पूरा शरीर ढुङ्गाजस्तो, आँखा गुच्चाजस्ता गोलो र मृत, दाँत निकै भयानक र ब्लेडजस्ता धारिलो देखिन्छ ।

यस जीवलाई देखेर वैज्ञानिक पनि चकित परेका छन् । यो जीवलाई हाल ट्र्यापम्यान बरमागुई नाम दिइएको छ किनभने यहि नामका माझीले न्यु साउथ वेल्सभन्दा टाढा समुद्रमा जाल हानेर यसलाई समात्नुभएको थियो । यसलाई २१३० फिट गहिराइमा भेटिएको थियो । ट्र्यापम्यानले यसको तस्बिर दुई साताअघि नै फेसबुकमा शेयर गरेपछि यो फोटो चर्चाको विषय बनेको हो ।

उक्त सामाजिक सञ्जालमा रहेको पोस्टमा कसैले ‘यो त डरलाग्दो सपनाभन्दा कम छैन’ भनेर लेखेका छन् भने कसैले ‘यसको हाँसो त शैतानको जस्तो छ’ भनेका छन् । एकजनाले लेख्नुभएको छ,‘यो शार्कले नक्कली दाँत राखेको हुनुपर्छ, त्यसैले त यस्तो हाँस् उठ्दो अनुहार देखाइरहेको छ ।’

कतिले यो जीवलाई ‘कुकिकटर शार्क’ भनेका छन् भने कतिले ‘गबलिन शार्क’ त कतिले ‘ल्यान्टर्न शार्क’ को कुनै प्रजाति भएको प्रतिक्रिया जनाएका छन् । यद्यपि, ट्र्यापम्यान बरमागुई भने आफ्नो पोष्टमा आएका सबै कमेन्टसँग सहमत देखिनुभएन । ट्र्यापम्यानले यो कुनै कुकिकटर नभएको बताउँदै यसको छालाले यो इन्डेभर डगफिशको कुनै प्रजाति भएको बताउनुभएको छ । यो एक प्रकारको गल्पर शार्क हो, जसले गहिरो समुद्रमा गोता लगाउँछ ।

तर शार्कका विशेषज्ञ यो कुरा मान्न तयार छैनन् । क्यालिफोर्निया स्टेट युनिभर्सिटीमा शार्क ल्याबका निर्देशक क्रिस्टोफर लोवेले यो काइटफिन शार्क भएको बताउँनुहुन्छ । उहाँले यसलाई यकिनका साथ भन्न सकिने अवस्था अझै नआएको सुनाउनुभयो । यस्तै, फ्लोरिडा स्टेट युनिभर्सिटीका शार्क विशेषज्ञ डिन ग्रब्सले यो शार्कलाई हेरेर यो रफस्किन डगफिशजस्तो देखिएको बताउनुभयो ।

उहाँका अनुसार यो एक प्रकारको स्लिपर शार्क हो जसको फ्यामिली ग्रिनल्याण्ड शार्कसँग मिल्छ । डिनले भन्नुभयो, ‘हामी लगातार समुद्रमा अचम्मका शार्कका प्रजाति खोजिरहेका छौँ र पाउँछौ पनि ।’ त्यस्तै न्युजिल्याण्डस्थित नेशनल इन्स्टिच्युट अफ वाटर एन्ड एटमस्फरिक रिसर्चका वैज्ञानिक ब्रिट फिनुकीले यसलाई एक गल्पर शार्क भएको बताउनुभयो ।