जनता टाइम्स

१४ आश्विन २०७९, शुक्रबार १२:१६

सत्ता गठबन्धनको कुनै दृष्टिकोण, उद्देश्य र गन्तव्य छैन : ईश्वर पोखरेल


काठमाडौं, असोज १४ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धन सरकारको कुनै गन्तव्य र उद्देश्य नरहेको बताउनु भयो। काठमाडौंमा आज आयोजित दसैँ विशेष शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

उहाँले गठबन्धन सरकारको दृष्टिकोण, उद्देश्य, कार्यक्रम र गन्तव्य नरहेको भन्दै आगामी निर्वाचनबाट जनताले यसको फैसला गर्ने बताउनु भयो । उहाँले देशको आजको राष्ट्रिय राजनीति दुई ध्रुवमा विभाजित भएको भन्दै आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा जनताले मतदान गरेर राम्रो पार्टी र नेताहरुलाई जिताउन आग्रह गर्नुभयो ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले देशको न्यायालय, कार्यापालिका, देशका अन्य अंगहरु चल्नै नसक्ने (प्यारालाइसिस) को अवस्थामा रहेको बताउनुभयो । आगामी निर्वाचनबाट नेकपा एमालेले जित निकाले मात्रै देशलाई समृद्धिको बाटोमा लैजान सकिने उल्लेख गर्नुभयो ।

‘आजको राष्ट्रिय राजनीति दुई ध्रुवमा विभाजित भएको छ। एउटा पोलको लिड एमालेले गरेको छ। जसको राजनीतिक एजेण्डाहरु आर्थिक विकास र समृद्धि, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रता, सामाजिक सद्भाव अर्थात् देश बनाउने सपनाहरुको उजागर हो,’ पोखरेलले भन्नुभयो, ‘यो नेकपा एमालेले लिड गरेको पोल्टिकल पोल र एजेण्डाहरु हुन्। अर्कोतर्फ गठबन्धन छ। यो गठबन्धनको बारेमा मैले धेरै भन्नुपर्दैन, केही दिनअघि मात्रै आदरणीय मदनकृष्ण दाईले प्रस्तुतीमा राख्नुभएको थियो, म त्यो झल्झली सम्झन्छु।’