जनता टाइम्स

१५ श्रावण २०७६, बुधबार १२:५३

परिणाम खोज्दै प्रधानमन्त्री ओली : मन्त्री-सचिवसँगै कार्यसम्पादन संझौता


काठमाडौं, साउन १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले समय तालिका निर्धारण गरेर काम गर्न मन्त्री र सचिवहरुलाई निर्देशन दिनुभएको छ । आर्थिक वर्ष २०७६ ७७ को वार्षिक कार्ययोजना प्रस्तुतीकरण तथा कार्य सम्पादन सम्झौता कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अव काममा गति चाहिएको भन्दै समय तालिकाअनुसार काम गर्न निर्देशन दिनुभएको हो ।

कतिपय मन्त्रीहरुको कामप्रति प्रधानमन्त्री असन्तुष्ट रहेको समाचार सार्वजनिक भइरहेको बेला प्रधानमन्त्री ओलीले आज कार्य सम्पादन सम्झौता गर्नुभएको हो । सो अवसरमा प्रधानमन्त्री ओलीले अव कुनै छट नहुने प्रष्ट पार्नुभयो । ‘अहिले राजनीतिक अस्थिरताले काम गर्न दिएन भन्ने छुट छैन, वार्षिक कार्ययोजना, मासिक कार्ययोजना बनाएर, समय तालिका निर्धारण गरेर काममा लाग्नोस, प्रधानमन्त्री ओलीले भन्नुभयो । स्थीर सरकारको कारण ढुक्क भएर काम गर्ने वातावरण बनेको भन्दै प्रधानमन्त्री ओलीले परिणाम चाहिने प्रष्ट निर्देशन पनि दिनुभयो ।

‘देशमा सम्भावना भएर पनि विकासमा पछाडि छौं । पिछडिएको देश, गरिब देश भन्नु परेको छ । नकारात्मक चिजहरु विकास भएका छन् । आर्थिक विकासमा पछाडि पर्नु परेको छ । जनताले यो सब बदल्न बहुमत दिएका छन,’ प्रधानमन्त्री ओलीको भनाई थियो । अल्पविकसित राष्ट्रलाई विकसित राष्ट्र बनाउनुपर्ने जिम्मेवारी रहेकाले प्राप्त सहयोगको सदुपयोग गर्दै गुणस्तीय काम गर्न पनि प्रधानमन्त्री ओलीले निर्देशन दिनुभयो ।