काठमाडौं, असोज १५ । सरकारको नेतृत्व लिइरहेको नेपाली कांग्रेसमा उम्मेदवार चयनसम्बन्धी विवाद उत्कर्षमा पुगेको छ ।
प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाले महाधिवेशनका सहयोगी नेता–कार्यकर्तालाई मात्रै टिकट वितरण गर्न खोजेको भन्दै डा. शेखर कोइराला समूहले विरोध गरेको छ । कोइराला समूहले पार्टीभित्र सबै नेता–कार्यकर्तालाई योगदानमा आधारित भएर समान अवसर र न्यायपूर्ण व्यवहार गर्न माग गर्दै विरोध र धर्नाका गतिविधि गर्न थालेपछि कांग्रेसमा अन्तरद्वन्द्व चुलिएको हो ।
शेखर समुहले आज साँझ ५ बजेसम्मको अल्टिमेटम दिइसकेको छ । कोइराला समूहले समानुपातिकतर्फको सूची सच्याउनुपर्नेदेखि प्रत्यक्षतर्फको टिकट वितरण न्यायोचित हुनुपर्नेसम्मका माग राखेको छ । दुई सातायता दिनहुँजसो गुटगत बैठक, छलफल र विरोधसभा गरिरहेका नेता–कार्यकर्ताले बुधबार केन्द्रीय कार्यालयमै पुगेर धर्ना दिएका थिए भने बिहीबार चियापानको सन्दर्भमा आयोजित भेलाबाट संस्थापन पक्षप्रति आक्रोश पोखेका थिए ।
कोइराला समूहका नेता–कार्यकर्ताले निरन्तर संघर्ष जारी राखेपछि सभापति देउवाले निर्वाचन आयोगमा बुझाइसकेको समानुपातिक उम्मेदवारको सूची सच्याउने बचन दिनुभएको छ । तर, त्यसबारे छलफल गर्न बिहीबार र शुक्रबार निरन्तर बैठक बसे पनि सहमति भएको छैन ।
‘सभापतिले जुन बचन दिनुभएको छ, त्यसबारे छलफल भइरहेको छ, हामी शनिबारसम्म पर्खिन्छौं,’ कोइरालानिकट नेता गुरुराज घिमिरेले भन्नुभयो, ‘नेतृत्वले पार्टीभित्र समान अवसर र न्यायपूर्ण निर्णय गर्न सक्दैन भने विद्रोहको विकल्प छैन । महाधिवेशनमा प्रतिस्पर्धी भएकै कारण कसैलाई पाखा र कसैलाई काखा गर्न मिल्दैन ।’
कोइराला समूहले पार्टीभित्र अवसरको बाँडफाँट र वितरण गर्दा सभापति देउवाले महाधिवेशनमा आफूलाई भोट हाल्नेलाई प्राथमिकता दिएको र प्रतिस्पर्धा गर्नेलाई नियतवश पाखा लगाएर अघि बढ्ने प्रयास गरेको आरोप लगाएको छ । देउवाले समानुपातिक बन्दसूची सच्याउने र प्रत्यक्षतर्फको टिकट वितरणमा समेत मिलाएर अघि बढ्ने बचन दिएपछि नेता कोइराला आफैंले बुधबार साँझ आफूपक्षीय आन्दोलनरत नेताहरूलाई बोलाएर त्यसबारे व्याख्या गर्नुभएको थियो । ‘सभापतिजीले उम्मेदवार चयनमा भएको कमजोरी सच्याउँछु भन्नुभएको छ,’ कोइरालाको भनाइ थियो ।
देउवाले सम्बोधन गर्ने आश्वासन दिएपछि नेता कोइराला आशावादी देखिएका छन् तर महामन्त्री थापासहित दोस्रो पुस्ताका नेताहरू देउवाले आस देखाउने, काम नगर्ने भन्दै विद्रोहको तयारीमा जुट्नुपर्ने पक्षमा छन् । कोइराला समूहको बुधबारको भेलामा शेखरले सभापतिले बचन दिएकाले त्यसको प्रतीक्षा गर्नुपर्ने बताएका थिए तर महामन्त्री थापाले सभापतिले पटक–पटक बचन दिने र पूरा नगर्ने भएकाले भर पर्न नसकिने बताउनु भएको छ ।
कोइराला समूहबाट नेता कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री थापा, सहमहामन्त्री बद्री पाण्डेलगायत केही नेताबाहेक सबैजसो नेताहरूको टिकट जोखिममा छ । महाधिवेशनमा कोइरालालाई सभापति बनाउने अभियानमा लागेका र कोइराला समूहबाट उम्मेदवार बनेर पराजित भएकाहरू टिकट नपाउने त्रासमा छन । कोइराला समूहका सिनियर नेताहरू बलबहादुर केसी, अर्जुननरसिंह केसी, मीनेन्द्र रिजाल, चन्द्र भण्डारीलगायत नेताहरूले नै टिकट नपाउने जोखिम छ ।
केसीद्वय हाल केन्द्रीय सदस्य हुनुहुन्छ । ०४० सालमै नेपाल विद्यार्थी संघको सभापति बनेका बलबहादुर केसी सभापति देउवाको उमेर समूहका नेतामध्येमा पर्छन् तर उनको क्षेत्र सोलुखुम्बुबाटै उनको नाम सिफारिस भएर आएको छैन । ०७४ मा माओवादी केन्द्रका हेमकुमार राईसँग पराजित केसी पुनः प्रत्यक्षमै चुनाव लड्न चाहन्छन् तर गठबन्धनमा सिट बाँडफाँट हुँदा सोलुखुम्बु कांग्रेस वा माओवादी कसको भागमा पर्छ, निश्चित छैन ।













प्रतिक्रिया दिनुहोस्