जनता टाइम्स

१५ आश्विन २०७९, शनिबार १५:४८

एमाले महासचिवको प्रश्न- ‘को हो गठबन्धनको भावी प्रधानमन्त्री ?


कास्की, १५ असोज । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले गठबन्धनमा रहेका दलहरूलाई प्रश्न गर्नुभएको छ । नेकपा (एमाले) कास्की जिल्ला कमिटीद्वारा पोखरामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा महासचिव पोखरेलले गठबन्धनलाई को हो तपाईंहरूको निर्वाचनपछिको प्रधानमन्त्री ? भन्दै प्रश्न गर्नुभएको हो ।

उहाँले भन्नुभयो,‘शेरबहादुर देउवा ? हामी तपाईंहरूले अगाडि सार्ने भावी प्रधानमन्त्रीसँग हामीले अगाडि सारेका भावी प्रधानमन्त्रीबीच जनमत सङ्ग्रह चाहन्छौं । कि निर्वाचनपछि प्रधानमन्त्रीका लागि गठबन्धनभित्रै झगडा र तमासा गर्ने विचारमा हुनुहुन्छ ?’ उहाँले जनमतका विरोधी माधव–प्रचण्ड काँग्रेससँग सिटको भीख माग्दै गरेको बताउनुभयो ।

निर्वाचनमा जनताले नीति मात्र होइन, नेता छान्न पाउनुपर्छ भन्ने मान्यताका साथ आगामी निर्वाचनमा नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अगाडि सारेको बताउनुभयो । कार्यक्रममा एमालेले आफ्नो भावी प्रधानमन्त्री र गठबन्धनले अगाडि सार्ने भावी प्रधानमन्त्रीबीच जनमत सङ्ग्रह चाहेको बताउनुभएको हो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई घेराबन्दी गरिएपछि, जनादेश खण्डित गर्ने षडयन्त्र शुरू भएपछि ओलीले प्रतिनिधिसभा विघटन गर्नुभएको स्पष्ट गर्दै महासचिव पोखरेलले प्रचण्ड र माधन नेपाल जनमतका विरोधी भएको बताउनुभयो । उहाँले नयाँ जनमतमा जानु लोकतन्त्रको विरूद्धमा नहुने बताउनुभयो ।

देशको नेतृत्व गरिरहेका दलका नेताहरू आज नेपाली काँग्रेससँग निर्वाचनमा उम्मेदवारी दिन सिट माग्ने अवस्थामा पुगिरहेको चर्चा गर्दै महासचिव पोखरेलले थप्नुभयो,‘नेकपा एसलाई सोध्न चाहन्छु, १७ सिटको भीख माग्न लज्जावोध हुँदैन ? समाजवादको गफ हाक्ने नेताहरू शेरबहादुर देउवालाई नेता मानेर समाजवादमा पुगिन्छ ? मजाक गर्ने ? माओवादीका नेताहरू के शेरबहादुर देउवालाई नेता मान्न १७ हजारको बलिदान गरेको हो ?’

गठबन्धनद्वारा राज्यको लुट

उहाँले नेपाली कांग्रेस नीतिविहीनताको शिकार भएको बताउँदै यदि काँग्रेसभित्र उसको नीति बमोजिम चल्नुपर्छ भन्ने मान्यता राख्ने कोही हुनुहुन्छ भने बोल्ने बेला आएको बताउनुभयो । काँग्रेसले २००७ मा राणासँग सम्झौता गरेर अगाडि बढ्दा २०१७ साल निम्तिएको, २०४६ सालको जनआन्दोलनपछि आन्दोलनको सहयोद्धा बाममोर्चासँग नभई राजाका प्रतिनिधिसँग मिलेर कमजोर संविधान बनाउँदा २०६२/६३ को जनआन्दोलनको आधारभूमि तयार भएको र वर्तमान संविधान जारीपछि पनि काँग्रेसले जनादेश विपरीत सत्तामा पुग्ने षडयन्त्रमा लागेको चर्चा गर्दै महासचिव पोखरेलले यदी लोकतन्त्रलाई संकट छ भने त्यो जनादेशको अवज्ञा र गठबन्धनबाटै हुने पनि उल्लेख गर्नुभयो ।

उहाँले मुलुकमा भ्रष्टाचार र अव्यवस्था मौलाइरहेका र पाँच दलीय गठबन्धनले राज्यमा लुट मच्चाइरहेको पनि सुनाउनुभयो । महासचिव पोखरेलले गठबन्धन अस्थिरता र नीतिगत विचलनको कारक भएको बताउँदै जनताबाट तिरस्कृतहरू मिलेर जनतामाथि शासन गर्न खोजेको पनि आरोप लगाउनुभयो ।

नेकपा (एमाले) मुलुकमा आर्थिक, सामाजिक रूपान्तरण चाहेको र जनताको जीवनस्तरमा परिवर्तन चाहेको बताउँदै महासचिव पोखरेलले यस दिशामा अगाडि बढ्न चाहने देशभक्त, बामपन्थी सबैलाई एमालेमा समाहित हुन आह्वान गर्नुभयो । उहाँले भन्नुभयो,‘नेकपा (एमाले) देशमा लोककल्याणकारी राज्य स्थापना गर्न चाहन्छ, मनमोहन अधिकारी नेतृत्वको एमालेको सरकारले शुरू गरेको सामाजिक सुरक्षा भत्ता दक्षिण एसियामा सामाजिक सुरक्षाको मोडेल हो, हामीले सामाजिक सुरक्षा भत्ता रकम मासिक पाँच हजार रुपियाँ पुर्याउने जनतासँग गरेको कवोल थियो, सरकारबाट हटाएर पूरा गर्न नदिएकाले त्यो कबोल पूरा गर्न चाहन्छौं ।’

मुलुकको विकास र समृद्धिका लागि दूरदर्शी नेतृत्व, बलियो राष्ट्रिय शक्ति र स्थायित्व जरूरी रहेको भन्दै एमालेले दूरदर्शी नेतृत्व र देश बनाउने गन्तव्यसहितको नीति अगाडि सारेको र त्यो कार्यान्वयन गर्ने बलियो शक्ति निर्माणको अभियानमा लागेको महासचिव पोखरेलले स्पष्ट पार्नुभयो । हामीले लोकतन्त्रका लागि तीन पुस्ताले सङ्घर्ष गरेकोमा गर्व गर्छौं, अधिकारको लडाईमा सफल पनि भएका छौं तर क्रान्तिपछि युग बदल्न, समाज बदल्न सकेका नसकेको बताउनुभयो ।

उहाँले आगामी निर्वाचन हामीले ल्याएको परिवर्तन र उपलब्धिलाई सही दिशामा अगाडि बढाउने सन्दर्भमा अत्यन्त महत्वपूर्ण रहेको बताउँदै त्यसका लागि नेकपा (एमाले) बाट मात्रै सम्भव हुने बताउनुभयो । अन्तमा उहाँले नेपालीहरूका महान चाड बडादशैं, तिहार, नयाँ बर्ष र छठपर्वको शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य खगराज अधिकारीलगायतका नेताहरूको उपस्थिति रहेको थियो ।