जनता टाइम्स

१५ आश्विन २०७९, शनिबार १७:२२

देशले फेरि पनि केपी ओली खोजिरहेको छ : महेश बस्नेत


सप्तरी, असोज १५ । नेकपा एमालेका पाेलिटब्युराे सदस्य महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीले देशकाे विकासका लागि असाधारण भूमिका खेल्नुभएकाे बताउनुभएकाे छ ।

राष्ट्रिय युवा संघ नेपाल मधेश प्रदेश कमिटीले शनिबार सप्तरीकाे कञ्चनरुप नगरपालिकामा गरेकाे कार्यक्रममा बाेल्दै नेता बस्नेतले अध्यक्ष ओलीलाई सिंगाे देशसँगै मधेसले फेरि पनि खाेजिरहेकाे बताउनुभयाे । केपी ओलीलाई मधेशबाट बाइबाइ गर्ने दलहरु बाहिरिएका उहाँले बताउनुभयाे ।

‘हिजाे केपी ओलीलाई मधेसमा बाइबाइ भन्ने अभियान चलाइयाे,आज मधेसमा केपी ओली हाइ हाइकाे अवस्था छ, अहिले पनि सिंगाे देशले केपी ओलीलाई खाेजिरहेकाे छ,मधेसले केपी ओली खाेजिरहेकाे छ’-नेता बस्नेतले भन्नुभयाे ।

अध्यक्ष ओलीले समृद्ध मधेसकाे अभियान चलाउनुभएकाे पनि उहाँले बताउनुभयाे । हुलाकी राजमार्गदेखि सुनकाेशी मरिण डाइभर्सन लगायतका काम अध्यक्ष ओलीले गर्नुभएकाे नेता बस्नेतले स्मरण गराउनुभयाे । केपी ओली नेतृत्वकाे एमालेकाे सरकारले ३ वर्षकाे अवधिमा देशकाे विकासका लागि असाधारण काम गरेकाे उहाँले बताउनुभयाे ।

मधेसी जनताकाे भावनासँग खेलेर मधेसवादी दलहरुले भ्रष्टाचारबाहेक केही नगरेका नेता बस्नेतले बताउनुभयाे । बेटी बचाउ बेटी पढाउ अभियानका नाममा मधेसवादी दलले भ्रष्टाचार गरेका नेता बस्नेतले बताउनुभयाे । कम्युनिष्ट आन्दाेलनकाे मूल प्रवाह एमाले रहेकाे भन्दै नेता बस्नेतले एमालेमा समाहित हुन सबैलाई आव्हान गर्नुभयाे ।