जनता टाइम्स

१५ श्रावण २०७६, बुधबार १४:०९

अनेक बहानावाजी गरेर सरकारलाई रोक्ने र असफल बनाउने कुरा मञ्जुर छैन : प्रधानमन्त्री ओली


काठमाडौं, साउन १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र आफ्ना माहतका व्यक्तिलाई स्वच्छ, पारदर्शी र गतिशिल बनाउन मन्त्री तथा सचिवहरुलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री कार्यालयमा आज आयोजित आर्थिक बर्ष २०७६/०७७ को बार्षिक कार्ययोजना प्रस्तुती तथा कार्यान्वयन सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो निर्देशन दिनुभएको हो ।

‘भ्रष्टाचार अन्त्य गर्न र सदाचारितालाई अवलम्बन गर्नका लागि सुत्र नै बनाऊँ, तर मातहतको नजरमा नगिरौं । मातहतको नजरबाट गिर्नबाट जोगियो भने मान्छेले राम्रो काम गर्न सक्छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । उहाँले मन्त्री र सचिबहरुलाई कामलाई तिव्रता दिन र जेठ १५ मा बजेट ल्याउनुको उद्धेश्य आत्मसाथ गर्न पनि निर्देशन दिनुभयो । ‘हामीले जेठ १५ मा बजेट ल्याएर असारभित्र पारित गर्ने परिपाटी किन सुरु गर्यौं भने साउनको सुरुबाट काम गर्न सकिन्छ भन्ने सोचले हो, तर पहिले जस्तो फागुनतिर बल्ल ठेक्का सदर हुने गर्यो भने फेरि ठेक्का लाग्दा नलाग्दा पानी पर्ने बेला हुन्छ । अब त्यस्तो हुनुहुदैन । समय खेर फाल्नु भएन,’ प्रधानमन्त्री ओलीको भनाई थियो ।

प्रधानमन्त्री ओलीले आफू र मन्त्रीहरुबीच कार्ययोजना सम्झौता भएकोले अब कामले तिव्रता लिने विश्वास पनि व्यक्त गर्नुभयो । ‘मेरो र मन्त्रीजीहरुको बीचमा सम्झौतामा हस्ताक्षर भएको छ । अब मन्त्रीजी र सचिबहरु बीचको सम्झौता भएर कामको गतिले तिव्रता लिने विश्वास लिएको छु,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । सरकार भ्रष्टचारीहरुका विरुद्धमा अभूतपूर्व ढंगले अघि बढेको प्रष्ट पार्दै आफू कुनुै संझौता नगर्ने अडान दोहोर्याउनु भयो ।

‘भ्रष्टाचारीहरुलाई मुद्धा चलाइएको छ । कारबाही दृढताका साथ अघि बढाइएको छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । कतिपय बेला संसदमा प्रतिपक्षीहरुले अनावश्यक रुपमा व्यवधान खडा गर्ने गरेको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रको रक्षा गर्ने दायित्वबाट आफूहरु पछि नहटने प्रष्ट पार्नुभयो ।

‘अनेक बहानावाजी गरेर हामीलाई रोक्ने र असफल बनाउने कुरा मञ्जुर छैन, लोकतन्त्रको रक्षा गर्ने र समुचित ढंगले अघि बढाउने कुरामा वर्तमान सरकार हामी दृढ छ,’ प्रधानमन्त्री ओलीको भनाई थियो । उहाँले जनताले स्थिरताका लागि बहुमत दिएकोले वर्तमान सरकार जनताप्रति उतरदायित्व भएर काम गर्ने र कसैको अनुचित दवावसामू नझुक्नेपनि प्रष्ट पार्नुभयो । कांग्रेसले पछिल्लो समय सरकारलाई अवरोध गर्दै नचाहिँदो मुद्धामा संसद अवरोध गरिरहेको छ । प्रधानमन्त्री ओलीले सोही अवरोधतर्फ संकेत गर्दै असफल वा अवरोध मञ्जुर नभएको प्रष्ट पार्नुभएको हो ।