जनता टाइम्स

१६ आश्विन २०७९, आईतवार १७:५७

दिल्लीमा ‘नर बलि’ : ६ वर्षीय बालकको घाँटी रेट्नेले भने – भगवानको आदेश थियो


एजेन्सी, १६ असोज । राजधानी दिल्लीको लोधी कोलोनी इलाकाको बस्तीमा दुई जनाले नर बलि’को लागि चक्कु प्रहार गरी चिनेका ६ वर्षीय निर्दोष बालकको हत्या गरेका छन् । आरोपितलाई पक्राउ गरेपछि प्रहरीले बालकको शव पोष्टमार्टमका लागि पठाएर अनुसन्धान सुरु गरेको छ ।

लोधी कोलोनी पुलिस थानाले दिउँसो करिब १ बजे यो जघन्य हत्याको जानकारी पाए । हत्यामा संलग्न दुवैलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका विजय कुमार र अमर कुमार बिहारका स्थानीय रहेको प्रहरीले जनाएको छ ।

प्रहरीको सोधपुछका क्रममा अभियुक्तहरुले हत्या गरेको स्वीकार गरेका छन् । आरोपितहरूले भने कि उनीहरूलाई विश्वास थियो कि भगवानले यो बच्चाको बलि चाहेका छन् , त्यसैले उनीहरूले बच्चाको घाँटी रेटेका हुन् ।

मृत्यु हुने बालकको नाम धर्मेन्द्र रहेको छ । धर्मेन्द्र तीन दाजुभाइमा माइलो थिए । उनको एउटी उनीभन्दा जेठी दिदी र २ वर्षकी बहिनी छिन् । मृतक ६ वर्षका थिए । मृतक बालकका बुबा अशोकले अभियुक्तले बालकको हत्या गरी खाटमुनि लुकाएको बताए ।

त्यसपछि आफूलाई अनुसन्धानबाट जोगाउन लुगा फेरेर रगतले लतपतिएको पुरानो लुगा लुकाएका थिए । अभियुक्तले हत्या गर्नुअघि गाँजा खाएका थिए । शिवको प्रसाद अर्थात् गाँजा खाएपछि केही महिलाले भजन गाउँदै गरेको ठाउँमा गएको अभियुक्त विजयले बताए । उनले भगवान शिवको आराधना गर्न धूप मागे, तर कसैले उनलाई धूप दिएनन् । यसपछि उनी आफ्नो बस्तीमा फर्किए र भगवान शिवले बच्चाको बलि मागेको भन्दै भ्रममा परे ।

यसपछि धर्मेन्द्र आफ्नो बस्तीमा जाँदा बालकलाई बस्तीभित्र लगेर अभियुक्तहरूले बालकको घाँटी रेटेर हत्या गरी टाउकोमा समेत चोट पुर्याएका थिए । प्रहरीले अभियुक्तले अपराध गर्दा लगाएको लुगा र अपराधमा प्रयोग गरिएको भान्साको चक्कु समेत बरामद गरेको छ । प्रहरीले आरोपितलाई पक्राउ गरी जेल चलान गरेको छ ।

यससँगै अभियुक्तहरू डिप्रेशनमा फसेको पनि प्रहरीले आशंका गरेको छ । प्रहरीले उनको विगतको इतिहास पत्ता लगाउने प्रयास गरिरहेको छ ।