जनता टाइम्स

१७ आश्विन २०७९, सोमबार ११:३८

एमाले अध्यक्ष ओलीको दशैं झापामा


काठमाडौं, १७ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यसपालीको दशैं झापामा मनाउनुहुने भएको छ । दशैं मनाउनका लागि अध्यक्ष ओली आज दिउँसो १ः४० बजे भद्रपुर जानुहुने भएको छ । बालकोट स्रोतका अनुसार भद्रपुरबाट अध्यक्ष ओली दमकस्थित आफ्नो निवासमा जानुहुनेछ । आज धनुकटाबाट लिम्बूवान र माओवादी त्यागेका केही नेताहरुलाई एमाले प्रवेश गराउँने कार्यक्रम रहेको छ ।

त्यस्तै भोली १ बजे भने उहाँ आफैले दशैं, तिहार, छठलगायत नेपाली पर्वहरुको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्नुभएको छ । अध्यक्ष ओलीले उक्त कार्यक्रममा सहभागी हुन विभिन्न दलका नेता, कार्यकर्ता र सर्वसाधरणलाई आमन्त्रण गर्नुभएको छ । सिटी साइ पार्टी प्यालेस विर्तामोडमा आयोजना गरिएको कार्यक्रम सकेर भोली साँझ अध्यक्ष ओली दमकस्थित निवासमै फर्केर स्थनीय नेता कार्यकर्तासँगै दशैं मनाउनु हुने भएको छ ।

अध्यक्ष ओलीले यसपालीको टिक झापामै ग्रहण गर्नुहुने भएको हो । झापाको भद्रपुर नगरपालिकास्थित पृथ्वीनगरमा टिकाको साइत ११ः५१ बजे बुबा मोहन प्रसाद ओलीको हातबाट अध्यक्ष ओलीले टिका ग्रहण गर्नुहुनेछ भने टिकाकै दिन उहाँ काठमाडौं आउनुहुनेछ । आज भने अध्यक्ष ओलीसँगै पत्नी राधिका शाक्य पनि झापा जाँदै हुनुहुन्छ ।