जनता टाइम्स

१८ आश्विन २०७९, मंगलवार ०९:०३

मधेश लोक सेवा आयोग : अधिकृतको परीक्षार्थीहरु सहभागी २ हजार ५६७ नतिजा आउँदा २ हजार ५७९


काठमाडौं, १८ असोज ।  मधेश प्रदेशको लोक सेवा आयोगले १८ भदौ २०७९ मा अधिकृत सातौं तहको परीक्षामा रोल नम्बर २ हजार ५६७ सम्मका परीक्षार्थीहरु सहभागी हुने भनेर परीक्षा केन्द्र सार्वजनिक गरेको थियो । तर उक्त लिखित परीक्षाको नतिजा यही असोज १३ गते आउँदा रोलनम्बर २ हजार ५७९ सम्मका परीक्षार्थीहरुको समेत आयो ।

अर्थात् आयोगले सुरुमा सार्वजनिक गरेको परीक्षार्थीको संख्यामा नतिजा सार्वजनिक हुँदा १२ जना बढी परीक्षार्थी थपिएका थिए र थपिएका सबै लिखित परीक्षामा पास पनि भए । यसबारे सामाजिक सञ्जालमा लोक सेवा आयोगको विश्वसनीयतामा प्रश्न उठाउँदै विभिन्न टिकाटिप्पणी भइरहेको छ । कतिपयले अनियमितता भएको भनेरसमेत लेखेका छन् । मधेश प्रदेश लोक सेवा आयोगका प्रवक्ता गंगेश गुञ्जन झाका अनुसार प्रशासन सेवाको एकीकृत समूहका लागि खुलाइएको अधिकृत सातौं तहको विज्ञापनमा कूल २ हजार ६१८ जनाले आवेदन दिएका थिए । तीमध्ये ३८ जनाको दरखास्त फाराम विज्ञापनको सूचना अनुसार नभई अस्विकृत भएको थियो ।

त्यसैले २ हजार ५८० जना परीक्षार्थीका लागि प्रश्नपत्र, हाजिरी र सिट प्लान गरी नामावली सार्वजनिक गरिएको थियो । तर नतिजा सार्वजनिक गर्ने क्रममा भने त्योभन्दा १२ जना बढी परीक्षार्थीहरुको विवरण निकाल्यो । प्रवक्ता झाले परीक्षाको बेला केही आवेदक थपिएकाले नतिजा बढी प्रकाशन भएको बताउनुभयो । ‘परीक्षाको अन्तिम समयमा केही परीक्षार्थीले आवेदनको प्रकृया पूरा गरी परीक्षामा सहभागी गराउन आग्रह गरेका थिए । तिनीहरुले एक वर्ष फेरि परीक्षाको लागि कुर्नु पर्ने दुखेसो सुनाएपछि आयोगले थप १२ जनालाई सहभागी गरायो,’ उहाँले भन्नुभयो त्रुटी होइन । स्वाभाविक हो । केन्द्रीय लोक सेवा आयोगमा पनि यस्तो व्यवस्था छ ।’