जनता टाइम्स

२१ आश्विन २०७९, शुक्रबार १८:२९

एमाले अध्यक्ष ओलीको गृह जिल्लामा एमालेबाट को–को बने प्रत्यक्ष उम्मेद्वार ?


काठमाडौं, २१ असोज । नेकपा एमालेले झापाका पाँचवटै संघ र प्रदेश सांसदका उम्मेद्वारको टुंगो लगाएको छ । राप्रपासँगको तालमेलमा एक संघीय निर्वाचन क्षेत्र र दुईवटा प्रदेश छोडेर एमालेले चार वटा संघीय र ८ वटा प्रदेश निर्वाचन क्षेत्र आफूले राखेको छ । उम्मेद्वारहरुको अन्तिम सूचि आजै सम्बन्धित जिल्लामा पठाइने पार्टी केन्द्रले जनाएको छ ।

स्रोतका अनुसार झापा क्षेत्र नं ५ मा अध्यक्ष केपी शर्मा ओली, ४ मा लालप्रसाद (एलपी) साँवा लिम्बू, २ मा स्थायी कमिटि सदस्य देवराज घिमिरे र १ मा स्थायी कमिटी सदस्य अग्नी खरेलको उम्मेद्वारी रहनेछ । क्षेत्र नं ३ मा एमालेले राप्रपालाई छोडेको छ भने राप्रपाबाट अध्यक्ष राजेन्द्र लिङदेनको उम्मेद्वारी रहने बताइएको छ ।

क्षेत्र नं १ मा पार्टी केन्द्रले स्थायी कमिटी सदस्य खरेललाई अघि सार्ने निर्णय गरेको हो । क्षेत्र नं २ बाट सिफारिसमा पर्नुभएको पूर्वमन्त्रीसमेत रहनुभएको खरेललाई पार्टीको आवश्यकता र विपक्षीलाई टक्कर दिन सक्ने उम्मेद्वारका रुपमा क्षेत्र नं १ बाट उम्मेद्वार बनाइएको छ ।

प्रदेशतर्फ क्षेत्र नं ५ का दुई क्षेत्रमा स्थायी कमिटी सदस्य प्रदेश क मा हिक्मत कार्की र ख मा प्रदेश सदस्य होमबहादुर थापा उम्मेद्वार बन्नुहुने भएको हो । क्षेत्र नं ४ क बाट एमालेका राधाकृष्ण खनाल हुनुहुने भएको छ भने ख राप्रपाले पाउने भएको छ । क्षेत्र नं ३ ख मा केन्द्रीय सदस्य हरी राजवंसी र क मा प्रदेश सदस्य एवं निवर्तमान प्रदेश साँसद बसन्त बाँनिया उम्मेद्वार हुनुहुने भएको छ ।

क्षेत्र नं २ मा प्रदेश सचिव चिन्तन पाठक र प्रदेश सदस्य एवं निवर्तमान साँसद एकराज कार्की दोहोरिनु हुनेभएको छ ।
क्षेत्र नं १ को एउटा क्षेत्र राप्रपालाई छोडेर अर्को क्षेत्रमा एमाले केन्द्रीय सदस्य रविन कोइरालालाई उम्मेद्वार बनाउने तयारी रहेको स्रोतले बतायो ।