जनता टाइम्स

२२ आश्विन २०७९, शनिबार १२:४३

एमालेको जसपा र राप्रपासँग केही सिटमा मात्र तालमेल बाँकीमा प्रतिस्पर्धा


काठमाडौं, २२ असोज। सत्तारुढ गठबन्धन छोडेर आएको जनता समाजवादी पार्टी र तालमेलका लागि ढुक्क भएर बसेको राष्ट्रिय प्रजातन्त्र पार्टी दुबैसँग नेकपा (एमाले) ले सम्पूर्ण सिटमा तालमेल नगर्ने भएको छ । जसपासंग मधेस प्रदेशका सबै सिटमा तालमेल भए पनि धनुषा –२ अपवाद रहेको छ ।

राप्रपालाई एमालेले जम्मा तीन सिट छोड्ने भएको छ । राजेन्द्र लिङदेन, दीपक बोहोरा र धवल शम्शेर जबराबाहेक लाई सिट छाडन नसकिने अडान एमालेको छ । जसपासंग मधेस प्रदेशबाहेक अशोक राईका लागि सुनसरी –१ छाड्न एमाले तयार भएको छ भने जसपाका मोहम्मद इस्तियाक राईले एमालेको साथ नपाउने पक्का भएको छ ।

राप्रपाका धवल शमशेरलाई छाड्ने वचन पहिल्यै दिइसकेकाले पछि आएका इस्तिायाक राईले साथ नपाउने भएका हुन् । जुन जिल्लामा तालमेल भएको छ सोही जिल्लामा भोटको लेनदेन हुने बाँकी स्थानमा मित्रवत प्रतिस्पर्धा गर्ने तीनै दलबीच सहमति भएको श्रोतले बताएको छ ।